साताभर सेयर बजारमा १५१.६१ अंकको गिरावट।

काठमाडौं:= साताभर सेयर बजार १५१.६१ अंकले घटेको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक ७३.५९ अंकले बढेर २९३१.५९ अंकमा पुगेको थियो भने यस साताको पाँचै दिन कारोबार भएको नेप्से चार दिन ओरालो लागेको छ भने एक दिन सामान्य अंकले बढेको छ । साताको पाँच दिनको कारोबारमा नेप्से १५१.६१ अंकले घटेर २७७९.९८ अंकमा झरेको छ ।  गत साता नेप्से ७३.५९ अंकले बढेको थियो।

यस साताको पहिलो कारोबार दिन आइतबार नेप्से १०.८३ अंकले घटेर २९२०.५१ अंकमा झरेको छ तर नेप्सेमा गिरावट आए पनि सेन्सेटिभ इन्डेक्स ०.०६ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६३ अंकले घटेको छ । सो दिन कारोबारमा आएका दुई सय ३२ कम्पनीका एक करोड ४७ लाख चार हजार कित्ता सेयर सात अर्ब तीन करोड आठ लाख आठ हजार रुपैयाँमा कारोबार भएको छ ।

दोस्रो दिन नेप्से करिब सय अंकले घटेर २८२०.६५ अंकमा झरेको छ । सोमबार कारोबारमा आएका दुई सय २८ कम्पनीका एक करोड ७० लाख ६३ हजार कित्ता सेयर आठ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा कारोबार भएको छ । त्यस्तै मंगलबार नेप्से ५.५९ अंकले घटेर २८१५.०६ अंकमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स १.०९ अंक, फ्लोट इन्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२४ अंक घटेको छ ।

सो दिन कारोबारमा आएका दुई सय २९ कम्पनीका ९७ लाख ८४ हजार छ सय ५१ कित्ता सेयर पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार नेप्से ३८.४२ अंकले घटेर २७७६.६१ अंकमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स ६.६ अंक, फ्लोट इन्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३४ अंक घटेको छ । कारोबारमा आएका दुई सय ३३ कम्पनीका ९३ लाख ५८ हजार सात सय कित्ता सेयर चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार भने नेप्से सामान्य अंकले बढेको छ ।

सो दिन नेप्से ३.२९ अंकले बढेर २७६९.९३ अंकमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.३८ अंक, फ्लोट इन्डेक्स ०.०५ अंकले बढेको छ तर सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२१ अंकले घटेको छ । कारोबारमा आएका दुई सय २४ कम्पनीका ६६ लाख ५७ हजार दुई सय ३१ कित्ता सेयर तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार छ सय ८४ रुपैयाँमा कारोबार भएको छ ।

गत साता एक खर्ब पाँच अर्ब ४१ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पत्ति यो साता भने दुई खर्ब १३ अर्ब ९० करोड रुपैयाँले घटेको छ । गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पुँजीकरण कुल ४१ खर्ब ४२ अर्ब ५३ करोड थियो । यस साता कुुल २९ अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।