काठमाडौं:= बलिउड अभिनेता सलमान खानलाई नेपाल आउनका लागि निम्तो दिइएको छ । उहाँलाई कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले नेपालका लागि निम्तो दिनुभएको हो । पुर्जाले सलमानसँग नेपालमा छिट्टै भेट हुनेछ भन्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ । पुर्जाले लेख्नुभएको छ, ‘सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ ।’
भेटमा पुर्जाले बलिउड सलमानलाई आफ्नो बायोग्राफी पुस्तकसमेत उपहार दिनुभएको छ । जुन उहाँले शेयर गरेको तस्वीरमा देख्न सकिन्छ । सात महिनाभित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राख्नु भएका पुर्जाले संसारका चर्चित सेलीब्रेटीलार्ई जुटाएर काठमाडौंमा एक कार्यक्रम गर्ने तयारी गरिरहनुभएको छ ।
सोही कार्यक्रममा सलमानसमेत ल्याउने उहाको योजना छ । भेटमा सलमानलाई पुस्तक दिँदै नेपाल आउने निम्तो दिएको बताउनुभएको हो । सोही कार्यक्रममा पुर्जाले विश्व चर्चित डिस्कभरि च्यानलका होष्ट बियर ग्रिल्ज पनि ल्याउने तयारी गर्नुभएको छ ।
यसअघि दबङ रिलोेडेड कार्यक्रममार्फत सलमानलाई नेपाल ल्याउने तयारी गरिएको थियो । आयोजकले सलमान नेपाल आउने भन्दै थुप्रै पैसासमेत उठाएको थियो । तर कार्यक्रमा विवाद सिर्जिएपछि सलमानको नेपाल कार्यक्रम स्थगित भएको थियो । सलमान सन् १९९२ मा चलचित्र ‘बुलन्द’को छायांकनका लागि नेपाल आउनुभएको थियो । त्यसपछि सलमान नेपाल आउनुभएको छैन ।




















