बुद्धजयन्ती अगावै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन मन्त्री आलेको निर्देशन।

[ दीपक घिमिरे ] 

भैरहवा:= संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बुद्धजयन्तीभन्दा अगाडि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

शनिबार विमानस्थलको निरीक्षण गर्दै मन्त्री आलेले अहोरात्र खटिएर भए पनि बुद्धजयन्ती अघि नै विमानस्थल सञ्चालनमा ल्याउन आयोजना तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूलाई निर्देशन दिनुभएको हो । आफू पर्यटनमन्त्री भएकाले यो विमानस्थल छिटो सञ्चालनमा ल्याउन चाहेको उहाँको भनाइ छ ।

उहाँले मौसम सफा हुनासाथ क्यालिब्रेसन फ्लाइट हुने बताउनुभयो । क्यालिब्रेसन फ्लाइट भएपछि विमानस्थल सञ्चालन हुने वातावरण बन्छ, उहाँले भन्नुभयो । उहाँले विश्वकै ध्यान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकाले यसलाई समयमै निर्माण गरेर सञ्चालनमा ल्याउन सकिए पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई–तीन घण्टा एअर ट्राफिक जाम हुने गरेकाले त्यसको विकल्पको रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालनमा ल्याउन सके सहज हुने मन्त्री आलेको भनाइ थियो । ठूला-ठूला जहाज उडेको हेर्न पाऔं, यो हाम्रो लागि गौरवको कुरा हो, उहाँले भन्नुभयो ।

मन्त्री आलेसँगै संघीय सांसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, सांसद प्रमोदकुमार यादवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको थियो। सो अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले आयोजनाको बारेमा जानकारी गराउनुभएको थियो। मन्त्री आलेसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रबन्धक प्रेमनाथ ठाकुरलगायत क्यान पदाधिकारीको उपस्थिति थियो ।