[ प्रकाश मैनाली ]
सर्लाही:= सर्लाहीको चन्द्रनगर गाउँपालिका-२, बबरगञ्जकी रामपरी माझीले कोरोना भाइरसविरुद्धको खोप लगाइसक्नु भएको छ । तर, उहाँको गाउँका धेरै मुसहर परिवारका सदस्यले खोप लगाउन चासो देखाएका छैनन् । ‘जतिपटक भन्दा पनि हाम्रो समुदायका धेरैले खोप लगाउन मानिरहेका छैनन्, उनीहरू खोप लगाए पनि मर्ने नै हो भन्छन्’ रामपरीले भन्नुभयो, ‘खोपबारे मुसहर समुदायलाई बुझाउनै सकिएको छैन ।’
धेरैले आफूलाई ‘तिमी अगाडि खोप लगाऊ, तिमी मछौँ कि बाँच्छौ अनि त्यसपछि हामी खोप लगाउँला’ भनेर जवाफ दिएको रामपरीले सुनाउनुभयो । रामपरीका अनुसार बबरगञ्ज गाउँमा खोप आउँदा अन्य समुदायको खोप लगाउन भिड हुने गरेको भए पनि मुसहरहरूको उपस्थिति अत्यन्त न्यून हुन्छ । नेपाल राष्ट्रिय मुसहर संघका सर्लाही अध्यक्ष ऋतुराज रिसीले कोरोना खोपबारे पिछडिएको मुसहर समुदायमा अझै पनि अफवाह नै रहेको बताउनुभयो । ‘हाम्रो समुदाय सँगोलमा बस्ने भएकाले संक्रमण सर्ने जोखिम धेरै नै छ, तर हाम्रै समुदायमा खोपबारे सही सूचना प्रवाह हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘खोपबारे आजसम्म गाउँमा चेतनामूलक कार्यक्रम नै गएको छैन, त्यसले गर्दा अफवाह रहिरह्यो ।’
उहाँले पहिलेको तुलनामा विस्तारै खोप लगाउन जाने क्रम बढे पनि औसतमा निकै कम रहेको बताउनुभयो । ‘हुन त पहिलेको तुलनामा मुसहरहरूले पनि विस्तारै खोप लगाइरहेका छन् तर औसतमा धेरै कम छ, उनीहरूमा खोपप्रति डर रहेकाले पनि चासो देखाइरहेका छैनन्, मुसहरहरूमा खोप लगाउँदा मरिन्छ भन्ने अफवाह अझै छ,’ नेपाल राष्ट्रिय मुसहर संघका सर्लाही अध्यक्ष रिसीले भन्नुभयो ।
शैक्षिक अवस्थासमेत निकै कमजोर रहेको मुसहर समुदाय प्रायः ज्याला मजदुरी गरेर गुजारा टार्छन् । परिवारका प्रायः सदस्य देशका विभिन्न स्थानका इँटा उद्योग र भारतमा समेत मजदुरीका लागि जाने गरेका छन् । घरमा महिला केटाकेटी र वृद्धवृद्धा मात्रै हुन्छन् । मजदुरीका लागि अन्यत्र पुगेकाहरू खोपबाट बञ्चित हुने र घरमा भएकाहरूले समेत अफवाहका कारण खोप नलगाउँदा मुसहर समुदाय कोरोना संक्रमणको जोखिममा रहेका मुसहर संघका अध्यक्ष रिसीले बताउनुभयो । खोपबारे सचेतना जगाउन जरुरी रहेको अध्यक्ष रिसी बताउनुहुन्छ ।
२०६८ सालको जनगणनाअनुसार देशभर मुसहर समुदायको कुल जनसंख्या दुई लाख ३४ हजार ४९० रहेको छ । सर्लाहीमा मात्रै मुसहरहरूको जनसंख्या १४ हजार १३७ जना रहेको नेपाल राष्ट्रिय मुसहर संघले जनाएको छ । मुसहर समुदायको सबैभन्दा बढी बसोवास रहेको चन्द्रनगर गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक वीरेन्द्र साहले सुरु–सुरुमा खोपबारे अन्योलता रहे ेपनि अहिले सबै समुदायले खोप लगाइरहेका बताउनुभयो । ‘सुरुमा मुसहर मात्रै नभई अन्य समुदायकाले पनि खोप लगाउन डराएका थिए, अहिले सबैले खोप लिइरहेका छन्, स्वास्थ्य शाखाका संयोजक साहले भन्नुभयो, ‘खोपबारे अब समुदायमा अफवाह छ भन्ने लाग्दैन, मुसहर समुदायमा त्यस्तो छ भने हामी बुझ्छौँ ।’
स्वास्थ्य कार्यालय सर्लाहीले कुन समुदायले कति खोप लगाए ? भन्ने अध्ययन नभएको र समुदायगत तथ्यांक पनि निकाल्न बाँकी रहेको जनाएको छ । कार्यालयका खोप अधिकृत रामदुलार यादवले खोप पु¥याउनै नसकेका कारण त्यसतर्फ ध्यान दिन नसकिएको बताउनुभयो ।
कुन–कुन समुदाय पछिपरेको छ, त्यो समुदायलाई कसरी खोपको पहुँचमा ल्याउन सकिन्छ ? भन्नेबारे स्थानीय पालिकाका स्वास्थ्य संयोजकसँग छलफल गर्छौं खोप अधिकृत यादवले भन्नुभयो, हामी त गाउँस्तरमा पुग्न सक्दैनौँ, हामीले पालिकाहरूसँग समन्वय गर्ने मात्रै हो ।




















