मलेसियामा हृदयघात भएर मृत्यु भएका श्रमिक कृष्णको मृत शव नेपाल फर्काइयो।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा अवैधानिक हैसियतमा कार्यरत रहेकै क्रममा हृदयघात (हर्टअट्याक)  भएर मृत्यु भएका नेपाली श्रमिक कृष्ण बहादुर रानाको मृत शव नेपाल फर्काइएको छ।

पाल्पा जिल्ला साबिक चापपानी गाबिस वडा नम्बर ८ हाल बगनासकाली गाउँपालिका वडा नम्बर ९ निवासी कृष्ण बहादुर रानाको गत बर्ष सन् २०२१ को डिसेम्बर ३० तारिखको दिन मलेसियाको साइबरजाया भन्ने ठाउँमा आफ्नो साथी भेट्न गएको बेला त्यतै साथीकै रुममा हृदयघात (हर्टअट्याक) भएर मृत्यु भएको थियो।

मृत्यु भएका ३२ बर्षिय नेपाली श्रमिक कृष्णको शव पोस्टमार्टमको लागी सेरडाङ् अस्पतालमा लगिएको थियो।
कृष्ण बिगत ७ बर्षदेखि अवैधानिक हैसियतमै मलेसियामा कार्यरत रहेका थिए।

मृतक कृष्णको शव नेपाल फर्काउनलाई एमटी सेक्युरिटी कम्पनीमा कार्यरत उनकै नेपाली साथीहरु र कम्पनीका बोसले  मिलेर आर्थिक सहयोग संकलन गरि मलेसिया स्थित नेपाली दूतावास र गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाको आर्थिक सहयोगमा शवलाई यहीँ जनवरी २७ तारिख बिहिवारको दिन नेपाल एयरलाइन्सको फ्लाईट मार्फत स्वदेश फर्काइएको मलेसियामै कार्यरत समाजसेवी राजु तामाङले जानकारी दिनुभयो।

मृतकको शव नेपाल फर्काउन कास्केट कम्पनीलाई तिर्नुपर्ने जम्मा आरएम ३५ सय रिंगेट मध्यमा २५ सय रिंगेट दूतावासले तिरिदिएको र १ हजार रिंगेट एनआरएनएले सहयोग गरेर तिरिदिएकोले बाँकी संकलन गरिएको जम्मा आरएम ४५ सय रिंगेट मृतक कृष्णको श्रिमति मिना कुमारी रानाको नाममा बैंकिङ गरि नेपाल पठाइ सहयोग गरिएको बताउनुभयो।

उता मृतकको शव नेपाल पुग्ने बितिक्कै निजको श्रिमतिले आफ्नो धर्मसंस्कृति अनुसार कृष्णको शवको अन्तिम दाहसंस्कार सम्पन्न गरेका छ्न। मृतक कृष्णको घरमा श्रिमतीसंगै कलिलै उमेरका दुई छोरी रहेका छ्न।