काठमाडौं:= साताको सुरुदेखि उच्च अंकले घटेको सेयर बजारमा बिहीबार भने सामान्य सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक ३.३३ अंकले बढेर २७७९.९८ अंकमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले बढेर ५१८.७२ अंकमा पुगेको छ । नेप्समा केही सुधार आए पनि कारोबार रकम भने घटेको छ ।
कुल दुई सय २४ कम्पनीका ६६ लाख ७५ हजार दुई सय ३१ कित्ता सेयर तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार छ सय ८४ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । कारोबार भएका कुल १३ समूहमध्ये सात समूहको सेयर मूल्य बढेको छ भने छ समूहको घटेको छ । बैंकिङ ४.३३, व्यापार ६.९९, होटल तथा पर्यटन २१.५५, विकास बैंक २१.१, जीवन बिमा १.३२, सामूहिक लगानी कोष ०.०९ अंकले घटेको हो तर जलविद्युत् ५.५२, वित्त १४.६५, निर्जीवन बिमा १३३.८३, उत्पादन २८.७२, अन्य १७.९२, लघुवित्त ५.३१ र लगानी ०.४७ अंकले बढेको छ । कारोबारका आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ ।
नेपाल दूरसञ्चार कम्पनी ११ करोड ४७ लाख २३ हजार सात सय ३०, अपि पावर ११ करोड १७ लाख ८१ हजार नौ सय ४८, शिखर इन्स्योरेन्स १० करोड ९९ लाख ३४ हजार दुई सय ७१ र आइएमई जनरल इन्स्योरेन्सको नौ करोड २५ लाख ९४ हजार तीन सय ३५ रुपैयाँको कारोबार भएको छ ।
विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रडोपावरको १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लागेको छ भने सिइडिबी हाइड्रोपावर ८.७२, अजोड इन्स्योरेन्स ७.२८ र एनआरएन इन्फ्रास्ट्रक्चरको पनि ७.१६ प्रतिशत बढेको छ । तर, सप्तकोशी डेभलपमेन्ट बैंक ४.१४, युनाइटेड इदी मर्दी हाइड्रोपावर ३.९०, नबिल इक्विटी फन्ड २.९६, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो २.७६ र एनएमबी माइक्रोफाइनान्सको २.७३ प्रतिशतले घटेको छ ।




















