आगलागी भएको म्याजिक सिनेमा हल फेरि नयाँ स्वरुपमा सञ्चालनको तयारी।

सुनसरी:= सुनसरीको झुम्का रामधुनीस्थित म्याजिक सिनेमा हल गत भदौमा विद्युत् सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट पूर्णरूपमा क्षति पुगेको हल फेरि तयारी भएको छ ।

आगलागीका कारण दुई करोड क्षति भएको हललाई साढे २ करोड खर्च गरेर सुविधा सम्पन्न बनाइएको छ । हलका सञ्चालक पर्शुराम चौधरीले पहिलाको कमी कमजोरीलाई सच्याउँदै हललाई नयाँ स्वरूपमा साजसज्जाका साथ तयार गरेको जानकारी दिनुभएको छ । उहाँँका अनुसार ५.१ साउण्ड सिष्टम पहिला पनि थियो । अहिले एमपी फाइभसँगै ६ वटा अत्याधुनिक स्पिकरहरू थपिएको छ । पर्दा पछाडिको बुफर दुईवटा बनाएको छ । पहिला डिजिटल प्रोजेक्टर थियो । अहिले एचडी डिजिटल बनाएको छ ।

सांस्कृतिक कार्यक्रम गर्न मिल्ने गरी हलको स्टेजसँगै क्लब लाइटिङको पनि व्यवस्था गरिएको उहाँँले जानकारी दिनुभएको छ । अब हल फिल्म प्रदर्शनका लागि तयार भएको र सरकारले सिनेमा हल खोल्न अनुमति दिएपछि ठूलो नेपाली वा विदेशी फिल्मबाट हललाई सञ्चालन गर्ने उहाँँले बताउनुभयो ।

लामो समय नेपाली फिल्ममा सम्पादक र साउण्ड डिजाइनरको रूपमा काम गरेका म्याजिक सिनेमा हलका सञ्चालक चौधरी फिल्मप्रति माया भएकै कारण पुनः ठूलो खर्चमा हललाई तयार गरेको बताउनुभएको छ । चौधरीले थारू भाषाको पहिलो चलचित्रको निर्माणसमेत गर्नुभएको थियो ।