एजेन्सी प्योङयाङ:= उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रहार गरेको छ। उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो । योसँगै उत्तरले जनवरीमा मात्र ६ वटा मिसाइल प्रहार गरेको छ । उसले ५ र ११ जनवरीमा हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो भने १४ र १७ जनवरीमा व्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो ।
उत्तरले पूर्वी तटको हामहुंग क्षेत्रमा दुईवटा व्यालिस्थक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ । चीन र रूसले प्योङ्याङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास्वरूप उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघमा अमेरिकाको प्रयासलाई रोकेका छन् । यो कदम उत्तर कोरियासम्बन्धी मुद्दाहरूमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बन्दसत्र बैठक अघि आएको हो । यस हप्ता प्योङयाङको रणनीतिक निर्देशित क्षेप्यास्त्र परीक्षणपछि दुई हप्तामा यो दोस्रो पटक यस्तो बैठक हुन लागेको, अल जजीराले जनाएको छ ।
उत्तर कोरियाले सोमबार दुईवटा रणनीतिक निर्देशित क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ जसले ‘कोरियाको पूर्वी सागरमा रहेको टापु लक्ष्यमा ठ्याक्कै प्रहार गरेको छ ।’ यो एक महिनामा गरिएको चौथो मिसाइल परीक्षण थियो ।
आफ्नो रक्षाका लागि मिसाइल परीक्षण गरेको उत्तरले दाबी गर्दै आएको छ । उत्तरका मिसाइल परीक्षणले कोरियाली प्रायद्वीपमा तनाब बढेको छ । तर, उसले विगत पाँच वर्षदेखि आणविक हतियार परीक्षण गरेको छैन् । यद्यपी, कोरियाली प्रायद्वीपमा तनाब बढिरहे पुनः आणविक परीक्षण गर्ने उसले धम्की दिँदै आएको छ । उत्तर कोरियाले आगामी महिना किम जोङ उहाँका पिता किम जोङ इलको ८०औं वार्षिकी मनाउँदैछ।




















