आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र
[ डीबि शर्मा ]
काठमाडौं:= राष्ट्रियसभा सदस्यको १९ सिटका लागि आज (बुधबार) निर्वाचन हुँदैछ । आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदानस्थल तोकिएको छ ।
मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा, लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।
प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि निर्वाचन हुन लागेको हो । कुल १९ पदका लागि ४३ जना प्रतिस्पर्धामा छन् । अधिकांश प्रदेशमा सत्तागठबन्धनका तर्फबाट संयुक्त रूपमा र नेकपा एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी र राप्रपाले पनि उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन संयुक्त रूपमा निर्वाचनमा होमिएको छ । १९ सिटका लागि हुने निर्वाचनमा कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच/पाँच, जनता समाजवादी पार्टीलाई दुई र राष्ट्रिय जनमोर्चालाई एकसिट लिने गरी भागबण्डा गरेका छन् । उनीहरूले सोही भागबण्डाअनुसार उम्मेदवारी दिएका छन् ।
संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा आगामी फागुनबाट रिक्त हुने २० मध्ये १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो । एक जना भने राष्ट्रपतिबाट मनोनीत हुनेछन् । राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
देशभरिबाट प्रदेशसभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिका प्रमुख तथा उपप्रमुखहरू एक हजार ४९३ गरी जम्मा २०२५ जना मतदाता छन् । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । ५९ सदस्सीय राष्ट्रियसभाका एकतिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।
राप्रपाले प्रदेश १ मा मात्रै मतदान गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा बाहेक अन्य प्रदेशमा मतदान नगर्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले आफ्नो उम्मेदवार रहेको प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने निर्णय गरेको हो । राप्रपाले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ भने अरू प्रदेशमा उसका उम्मेदवार छैनन् ।
साथै उनीहरूको पक्षमा मतदान गर्न पनि पार्टीका मतदातालाई बैठकले निर्देशन दिएको छ । अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको हो ।




















