संकटालाई हराउँदै मच्छिन्द्र आहा रारा गोल्डकपको सेमिफाइनलमा।

पोखरा:= साबिक विजेता संकटा क्लबलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा मच्छिन्द्रले संकटा क्लबलाई चार/एकको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

मच्छिन्द्रले अब फाइनलमा स्थान बनाउनका लागि बुधबार नेपाल एपिएफ फुटबल क्लबको सामना गर्नेछ । मच्छिन्द्रको जितमा मेसुके ओलुमोउले दुई तथा अविशेष गुरुङ र उत्सव राईले एक/एक गोल गर्नुभयो ।

खेलको १३औँ मिनेटमा उत्सव राईले गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाउनुभयो । खेलको ४७औँ मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो ।

खेलको ६३औँ मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई दुई/एकको अवस्थामा ल्याउनुभयो । ८६औँ मिनेटमा मेसुके ओलुमोउले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो पार्नुभयो । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल मंगलबार त्रिभुवन आर्मी फुटबल क्लब र थ्रिस्टार क्लबले खेल्नेछन् ।

त्यसअघि भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो । मनाङले दुवै गोल दोस्रो हाफमा गर्न सफल भयो । मनाङ र पुलिस दुवै आहा राराका सफल क्लब हुन् । दुवैले समान छ/छपटक उपाधि जितेका छन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकामा खेलको ६४औँ मिनेटमा मनाङले रुपेश केसीको गोलमार्फत् खेलमा अग्रता बनायो । पुलिसका रक्षापंक्तिका खेलाडी अजित भण्डारीले डिबक्सभित्र फुत्काएको बल अफिज ओलावाले नियन्त्रणमा लिँदै उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै केसीले गोल गर्नुभयो ।

खेलको नियमित समय सकिन तीन मिनेट बाँकी रहँदा मनाङले ८७औँ मिनेटमा अग्रता दोब्बर बनायो । खेलको ‘म्यान अफ दी म्याच’ घोषित ओलावाले मैदानको मध्यभाग नजिकबाट एक्लै बल अघि बढाउँदै मनाङका दुई डिफेन्डर र गोल किपर सञ्जीत श्रेष्ठलाई छक्काएर गोल गर्न सफल हुनुभएको थियो ।

मनाङसँगको खेलमा पुलिसले गोलका अवसर सिर्जना गर्न सकेको थिएन । पुलिसले प्रिक्वार्टरफाइनलको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकामा मनाङले सिधै क्वार्टरफाइनलमा खेलेको हो ।

यही माघ ६ देखि सुरु भएर आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरूले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।