साउदी अरेबिया := सामाजिक सञ्जालमा आधारहीन अफवाह फैलाउने व्यक्तिलाई पाँच वर्ष जेल सजाय तोकिने साउदी सरकारले चेतावनी दिएको छ । रियादमा एउटा कन्सर्ट रद्द भएपछि घर जाने क्रममा युवतीहरूमाथि यौन दुव्र्यवहार भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारको सो चेतावनी आएको हो ।
राजधानी रियादनजिकै १४ फेब्रुवरीमा आयोजना गर्ने भनिएको एउटा कन्सर्ट मौसमका कारण अन्तिम समयमा रद्द गरिएको थियो । कार्यक्रम रद्द भएपछि सयौं युवायुवती निराश मुद्रामा कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
घर फर्किने क्रममा केही महिला हराएका र केहीमाथि यौन दुव्र्यवहारको धम्की दिइएको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । उनीहरूमाथि वास्तवमै दुव्र्यवहार भए नभएको विषय अझै प्रष्ट हुन सकेको छैन् । महिलाहरूको सो गुनासोपछि सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई जेल हाल्ने सरकारले बताएको हो ।
कतिपयले महिलामाथि दुव्र्यवहार नभएको र प्रतिकूल मौसमका कारण कार्यक्रम रद्द गरिएको भन्दै आयोजकको प्रशंसा गरेका छन् । यसैबीच, साउदी मनोरञ्जन निकायकी प्रमुख तुर्की अल शेखले शृंखलाबद्ध ट्विट गर्दै महिलामाथि दुव्र्यवहार भएका विवरण गलत भएको बताउनुभएको छ ।




















