दिल्ली:= अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०२२ को टी-२० विश्वकपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । सार्वजनिक खेल तालिका अनुसार सुपर १२ को दोस्रो दिन नै चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्ने भएका छन् । दुवै टोलीको पहिलो खेलसमेत हुनेछ ।
सार्वजनिक समूह विभाजन अनुसार सुपर १२ को समूह ‘ए’मा इंग्ल्याण्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेता रहनेछन् । समूह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह ‘बी’को विजेता र समूह ‘ए’को उपविजेता रहनेछन् । भारत र पाकिस्तानबीचको खेल २३ अक्टोबरमा मेलबर्न क्रिकेट मैदानमा हुनेछ । त्यसअघि १६ अक्टोबरमा हुने उद्घाटन खेलमा श्रीलंका र नामिबिया भिड्नेछन् । पहिलो चरणका खेलहरू २१ अक्टोबरमा सकिनेछन् ।
सुपर १२ को पहिलो खेलमा साविक विजेता अष्ट्रेलिया र न्युजिल्याण्डबीच २२ अक्टोबरमा सिड्नी क्रिकेट मैदानमा खेल हुनेछ । त्यसैदिन इंग्ल्याण्ड र अफगानिस्तान पर्थ क्रिकेट मैदानमा भिड्नेछन् । सुपर १२ का समूह चरणका खेलहरू नोभेम्बर ६ सम्म चल्नेछन् । पहिलो सेमिफाइनल नोभेम्बर ९ र दोस्रो सेमिफाइनल नोभेम्बर १० मा हुनेछ । फाइनल नोभेम्बर १३ मा हुनेछ । यसअघि गत अक्टोबर नोभेम्बरमा भएको टि-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको थियो ।
यसै प्रतियोगिताको लागि नेपालले समेत आफ्नो तयारी तीव्र पारेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारमात्रै प्रतियोगिताका लागि अन्तिम १६ सदस्सीय टोलीको घोषणा गरेको छ । छनोटमा युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा पर्नुभएको छ । यस्तै शरद भेषवाकर, प्रदीप ऐरी र जीतेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गर्नुभएको छ । नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जीतेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी हुनुहुन्छ ।
विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रवरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । उक्त छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, आयरल्याण्ड र जर्मनी रहेका छन् । यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने छन् ।




















