बलिउड तथा साउथ अभिनेत्री काजल अग्रवाल आमा बन्दै।

मुम्बई:= बलिउड तथा दक्षिण भारतकी चर्चित अभिनेत्री काजल अग्रवाल आमा बन्ने हुनुभएको छ । उहाँका श्रीमान् गौतम किच्लुले सन् २०२२ को नयाँ वर्षका दिन इन्स्टाग्राममा यसबारे जानकारी दिनुभएको हो ।

पेशाले व्यवसायी गौतमले काजलको फोटो राख्दै क्याप्सनमा गर्भवतीको इमोजी राखेर आफूहरू आमाबुवा बन्न लागेको खबर दिनुभएको थियो । काजलले हालै सामाजिक सञ्जालमा ‘प्यारेन्टल क्लास’ लिएका तस्वीर पनि राख्नुभएको छ ।

उहाँहरूको बिहे सन् २०२० अक्टोबरमा भएको थियो । कोरोना महामारीका कारण उहाहरूको बिहेमा परिवार र निकट आफन्त तथा साथीहरूको मात्र उपस्थिति थियो । सन् २००४ हिन्दी फिल्म ‘क्युँ हो गया ना…’ चलचित्रबाट बलिउड प्रवेश गर्नुभएकी काजल सन् २००७ मा ‘लक्ष्मी कल्यानम्’ बाट तेलेगू चलचित्र उद्योगमा प्रवेश गर्नुभएको थियो ।

त्यही वर्ष सार्वजनिक भएको ‘चन्दामामा’ बाट भने उहाँले आफ्नो पहिचान बनाउन सफल हुनुभयो । तर उहाको करिअरको चर्चा सन् २००९ मा आएको ‘मगधिरा’बाट भएको हो । सन् २०२० मा काजलको मैनको मूर्ति म्याडम टुसाड्स सिंगापुरमा राखिएको थियो । त्यहाँ यस्तो मूर्ति राखिने उहाँ पहिलो दक्षिण भारतीय अभिनेत्री हुनुहुन्छ ।