मेरो गल्ती छैन, क्षतिपूर्ति चाहिन्छ: खेसरीलाल यादव।

काठमाडौं:= भोजपुरीका चर्चित कलाकार खेसरीलाल यादवले बर्जुको कार्यक्रमको क्रममा भएको घटनामा आफ्नो कुनै गल्ती नभएको र आफूहरूलाई क्षतिपूर्ति चाहिने बताउनुभएको छ ।मंगलबार सुनसरीको बर्जु गाउँपालिकामा आयोजित महोत्सवमा खेसरीलाल नपुगेपछि दर्शकले तोडफोड र गाडीमा आगजनी गरेका थिए । खेसरीलालले आफूलाई प्रशासनले कार्यक्रममा जानका लागि रोकेको बताउनु भएको छ ।

तोडफोडपछि विराटनगर पुग्नु भएका कलाकार खेसरीलाल फेसबुक लाइभमार्फत आफ्नो गल्ती नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हेर्नुहोस्, यसमा न म दोषी हुँ, न जनता हुन्, न त नेपालको प्रशासन । यसमा दोषी भनेको आयोजकमात्रै हो, जसले प्रशासनबाट कार्यक्रम रद्द गर्न निर्देशन दिइसक्दा पनि मलाई जानकारी गराएन र जनतालाई टिकट बेचिरहृयो ।’

आफू नेपालको बोर्डमा बिहानको सात बजेसम्म पुगिसकेको र करिब ११ बजेतिर कार्यक्रमस्थल जान खोज्दा होटलमै प्रहरी प्रशासनले रोकेको कलाकार खेसरीलालले बताउनुभएको छ । बिहानदेखि कलाकार खेसरीलालको प्रस्तुति हेर्न कुरेर बसेका दर्शकहरू दिउँसो १ बजेसम्म नआएपछि अक्रोशित बनेर तोडफोड र आगजनी गरेका थिए । दर्शकले भारतीय नम्बर प्लेट भएका चारवटा स्कार्पियो जलाए भने प्रस्तुति दिन आएका कलाकारका टिमलाई कुटपिट गरेका थिए ।

यी सबैमा आफ्नो करिब डेढ करोडको नोक्सानी भएको भन्दै उनले यसको क्षतिपूर्ति आयोजक टिमले दिनुपर्ने माग गर्नुभयो । तर, यस्तो घटना भइसक्दा पनि आयोजक टिमसँग सम्पर्क नभएको र आफू र आफ्ना नेपाली समर्थकलाई धोका दिएको यादवले आरोप लगाउनुभएको छ ।

आयोजक टिमले कार्यक्रममा टिकटको व्यवस्था भएकोसमेत नबताएको र नेपालमा कोरोनाका कारण यस्ता सभा, समारोहलगायत कार्यक्रम बन्द गर्न निर्देशन दिए पनि आयोजक टोलीले उनलाई झुक्काएको उहाँको दाबी छ । यतिमात्रै नभएर आयोजकले आफ्नो छवि बिगारेको आरोप उहाँले लगाउनुभएको छ ।