इंग्लिस प्रिमियर लिग: चेल्सी र ब्राइटनको बराबरी।

लण्डन:= इंग्लिस प्रिमियर लिगमा चेल्सी ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । बुधबार राति भएको खेलमा चेल्सीका लागि हाकिम जियाच र ब्राइटनका एडाम वेवस्टेरले १-१ गोल गर्नुभयो ।

खेलको २८औँ मिनेटमा जियाचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ६०औँ मिनेटमा एडामले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । उहाँले एलेक्सिस म्याक एलिस्टेरको पासमा हेडमार्फत् गोल गर्र्नुभएको हो ।

यो बराबरीसँगै चेल्सीले दोस्रो स्थानमा उक्लने मौकासमेत गुमाउँदा उपाधि होड थप कमजोर बनेको छ । चेल्सी २३ खेलबाट ४४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दुई खेल कम खेलेको लिभरपुल ४५ अंक जोडेर दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५६ अंक छ । चेल्सी शीर्ष स्थानको सिटीसँग १२ अंकले पछि छ । ब्राइटन २९ अंक जोडेर नवौँ स्थानमा यथावत् रहेको छ ।

यता युभेन्ट्सले साम्पडोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै कोपा इटालियाको क्वार्टरफाइनलमा स्थान बनाएको छ । युभेन्ट्सको फराकिलो जितमा जुआन कोर्डाडो, ड्यानिइल रुगानी, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गर्नुभयो भने साम्पडोरियाका एन्ड्रिया कोन्टीले एक गोल फर्काउनुभएको थियो ।