काठमाडौं:= कोरोना कहरका कारण नेपालमा पनि सिनेमा हलहरू बन्द भइरहेको अवस्थामा सुदर्शन थापा निर्देशित याँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को रिलिज मिति सरेको छ ।
कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यक बाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई स्थगित गरिएको निर्देशक थापाले जानकारी दिनुभएको छ ।
थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण ‘म यस्तो गीत गाउँछु २’ निर्धारित समयमा प्रदर्शन नहुने जनाउनुभयो । उहाँले अवस्था सामान्य भएपछि उही उत्साह र जोशका साथ प्रदर्शनको नयाँ मिति घोषणा गरिने जानकारी दिनुभयो । ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ ।
अन्य नेपाली चलचित्रले पनि प्रदर्शन मिति सारिरहेका छन् । चलचित्र प्रेमगीतको सिरिज आउने क्रममा छ । तर प्रदर्शन मिति अनिश्चित समयपछि सरेको छ । चलचित्र ‘चपली हाइट ३’ प्रदर्शन भएको दुई दिनमै सिनेमा हल बन्द भएका थिए । यो चलचित्र फेरि हल खुल्नासाथ प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।




















