सञ्जु र जुनुमायाको नयाँ कीर्तिमान।

काठमाडौं:= बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय कीर्तिमान राख्न सफल हुनुभएको छ ।

१३औँ दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एन्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एन्ड जर्कमा ९८ केजीसहित कुलमा १७६ केजी तौलका साथ नयाँ कीर्तिमान कायम गर्नुभएको हो ।

उहाँले स्नाचमा पहिलो प्रयासमा ७० केजी भार बहन गर्नुभएकोमा दोस्रोमा ७५ केजी तौल भार बहन गर्दै कीर्तिमानमा सुधार गर्नुभएको हो । पुनः तेस्रो प्रयासमा उहाँले  ७८ केजीका साथ नयाँ कीर्तिमान कायम गर्नुभएको हो ।

यस्तै क्लिनमा पहिलो प्रयासमा ९१ केजी भार बहन गर्नुभएकी उहाँले दोस्रो प्रयासमा ९८ केजी भार बहन गर्न असमर्थ हुनुभएको थियो । तर, तेस्रो प्रयासमा ९८ केजी तौललाई सहजताका साथ बहन गर्दै कुलमा १७६ केजी भारका साथ नयाँ कीर्तिमान कायम गर्नुभएको हो ।

यस्तै ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि कीर्तिमानमा आफ्नो नाम लेखाउनुभयो । उहाँले स्नाचमा ६८ केजी र क्लिन एन्ड जर्कमा ८८ केजीका साथ कुल १५६ केजी भार बहन गर्दै कीर्तिमान आफ्नो नाममा लेखाउनुभएको हो ।

यसअघि यस तौल समूहको कीर्तिमान नेपाल प्रहरीकी राजलक्ष्मी थापाको नाममा रहेको थियो । थापाले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी र कुलमा १५४ केजीको कीर्तिमान तेस्रो सुनिल लाल स्मृति भारोत्तोलन प्रतियोगितामा राख्नुभएको थियो ।