चीनसँग जोडिएका नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन।

काठमाडौं:= चीनसँग जोडिएका केरुङ र खासा नाकाहरू खुल्ला गर्न माग गर्दै स्थानीयहरूले विरोध प्रदर्शन गरेका छन् । बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरूले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरू खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनमा सहभागी हुनुभएका अमीर तामाङले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताउनुभयो । आन्दोलनकर्मी तामाङले भन्नुभयो, केरुङ, खासा नाकाहरू खुल्ला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ ।’

आन्दोलनकर्मीहरूले नेपाल चाइना नाका खुल्ला गर, विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गरलगायतका नारा लगाएका थिए ।