बाँकेमा पाटेबाघको त्रास कायमै, मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली परिचालन।

नेपालगञ्ज:= बाँकेको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतंक मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिन प्राविधिक टोली खटाइएको छ । दिनहुँ मान्छे खाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिनको लागि प्राविधिक टोली बाँके पुगेको निकुञ्ज प्रशासनले जनाएको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिनुभयो ।  उक्त टोलीमा तीनजना प्राविधिक कर्मचारी छन् ।

प्राविधिक टोलीलाई डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी, सशस्त्र वन रक्षक तथा नेपाली सेनाले पनि सहयोग गर्नेछन् । ‘बाघ अहिले कतातिर छ, त्यसको पहिचान गर्ने, त्यसपछि उसलाई लठ्याएर नियन्त्रणमा लिने काम हुन्छ,’ कँडेलले भन्नुभयो ।  बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत चार दिनदेखि राप्तीपारि क्षेत्रमा दुईवटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतंक मच्चाइरहेको स्थान राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् । बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चारजनाको ज्यान गइसकेको छ ।

मृतकका परिवारलाई किरिया खर्च

पाटेबाघको आक्रमणबाट ज्यान गुमाएका दुई महिलाका परिवारलाई स्थानीय सरकारले किरिया खर्च प्रदान गरेको छ ।  यसैसाता पाटेबाघको आक्रमणबाट ज्यान गुमाएका लीला विष्ट र चाँदनी थारूको परिवारलाई राप्ती सोनारी गाउँपालिकाले किरिया खर्च उपलब्ध गराएको हो  राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारू र बिहीबार राप्ती सोनारी–४ पर्सोना की ५३ वर्षीया लीला विष्टको मृत्यु भएको थियो । राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारू र उपाध्यक्ष धनीकुमारी खत्री मृतकको घरमै पुगेर किरिया खर्च प्रदान गर्नुभएको हो । अध्यक्ष थारूले  गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरेर दुवैजना मृतकका परिवारलाई जनहीबापत २५ हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाभित्र जुनसुकै घटनाबाट ज्यान गुमाउनेका परिवारलाई राप्ती सोनारीले किरिया खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएका दुईजना महिलाका परिवारलाई २५÷२५ हजार रुपैयाँ हस्तान्तरण गरिएको अध्यक्ष थारूले बताउनुभयो । पीडित परिवारलाई सान्त्वना दिँदै डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले प्रदेश सरकार र संघीय सरकारबाट नियमअनुसार दिइने क्षतिपूर्ति उपलब्ध गराइने आश्वासन दिनुभयो ।

बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चारजनाको ज्यान गइसकेको छ । यसअघि राप्ती सोनारी–१ गाभर र नरैनापुरमा एक÷एकजनाको मृत्यु भएको थियो । बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा निकै त्रसित बनेका छन् ।

भुवर भवानी मन्दिरमा पूजा पाठ

दिनदिनै बाघले मान्छे मार्न थालेपछि भुवर भवानी मन्दिरमा विशेष खालको पूजा पाठ गरिएको छ । राप्ती सोनारी–३ बनघुसरीमा रहेको यस क्षेत्रको सबैभन्दा ठूलो शक्ति पीठ भुवर भवानी मन्दिरमा विशेष पूजापाठ गरिएको हो । सदियौँदेखि मन्दिरमा पूजापाठ गर्दै आएका थारू गुरुवाहरूले बाघ नियन्त्रणका लागि विशेष खालको पूजा गरेको अगुुुुुवा चौधरिया विष्णुप्रसाद थारूले जानकारी दिनुभयो । सोमबार मात्रै विशेष खालको पूजापाठ दुईपटक गरिएको जानकारी दिँदै चौधरिया थारूले अब बाघ नियन्त्रण हुने आश्वासनसमेत दिनुभयो ।

पुर्खाहरूको भनाइअनुसार एक सय वर्ष अगाडि मान्छेलाई बाघले खाने गरेको र भुवर भवानी मन्दिर स्थापना गरी पुजापाठ गर्न थालेपछि रोेकिएको हो । विशेष खालको पूजा पाठ गर्ने क्रममा भुलचुक भएको निष्कर्ष निकालिएको छ । २०१४ सालमा पक्की मन्दिर बनि ठूलो शक्ति पीठको रूपमा मानिएको भुवर भवानी मन्दिरमा हरेक बर्ष तीनपटक पूजा पाठ गर्ने गरिएको छ । हरेक वर्ष माघे संक्रान्तिका अवसरमा यहाँ ठूलो मेलासमेत लाग्ने गरेको छ ।