[ शुभाकर विश्वकर्मा ]
नेपालगञ्ज:= बाँकेको राप्ती सोनारी क्षेत्रमा पाटेबाघ आतंक बढेको छ । बाँके राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रमा पाटेबाघको आतंक बढेको हो । यही क्षेत्रमा तीन महिनाको अवधिमा चारजनाको पाटेबाघको आक्रमणबाट ज्यान गएको छ ।
चारमध्ये तीनजनाको राप्ती सोनारी र एकजनाको नरैनापुरका नागरिकको ज्यान गएको हो । ज्यान गुमाउनेमा एक भारतीय पुरुषसहित, राप्ती सोनारीका दुई महिला र नरैनापुरका एक पुरुष छन् । पाटेबाघले पछिल्लो तीन दिनमा मात्रै राप्ती सोनारीमा दुई महिलाको ज्यान लिएको छ ।
पाटेबाघले गत भदौ महिनामा राप्ती सोनारी-१ कुसुमस्थित गाभरमा एकजना पुरुषलाई खाएको थियो । त्यहाँ रहेको भेरी राप्ती स्टाफ होटलमा कार्यरत ४५ वर्षीय भारतीय पुरुषलाई काम सकेर साँझपख बाटोमा हिँडिरहेको बेलामा पाटेबाघले झम्टेको थियो । उहाँ दुईदिनपछि आधा शरीर पाटेबाघले खाएको अवस्थामा भेटिनुभयो ।
यस्तै, यही बिहीबार जंगलमा घाँस काट्न जानुभएकी राप्ती सोनारी-४ की ५२ वर्षीया लीला विष्टको पनि ज्यान गएको छ । उहाँलाई बाघको पञ्जाबाट छुटाउन प्रहरीले हवाई फायर गर्नुपरेको थियो । विष्टसँगै जंगल गएका दुईजना भने बाँच्न सफल हुनुभयो । विष्टलाई मारेको दुई दिन नबित्दै फेरि राप्ती सोनारीमै एक महिलाको पाटेबाघकै आक्रणबाट ज्यान गएको छ ।
शनिबार मात्रै राप्ती सोनारी-६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारूको पनि पाटेबाघकै आक्रमणबाट मृत्यु भएको छ । प्रहरी चौकी फत्तेपुरका इञ्चार्ज यज्ञबहादुर खत्रीका अनुसार बिहान साढे १० बजे जंगलमा दाउरा काट्न गएकी उहाँ जिउँदो फर्किनुभएन ।
यस्तै, राप्ती सोनारी–४ की दुर्गा थारू राप्ती सोनारी-५ का बमबहादुर पुन तथा पुस ४ गते वडा नम्बर ६ कै जंगलमा मोटसाइकलमा यात्रा गरिरहनुभएका लोकमणि बटालालाई पाटेबाघले लखेटेको थियो । सोही दिन सामुदायिक वनमा दाउरा ल्याउन गएका अशोककुमार थारू र राजाराम थारू पनि रूखमा चढेर ज्यान बचाउन सफल भएका थिए ।
पछिल्लो समय राप्ती सोनारी क्षेत्रमा पाटेबाघको आतंक बढ्न थालेपछि स्थानीयले बाघलाई नियन्त्रणमा लिन आग्रह गरेका छन् । पाटेबाघले दैनिक मानिस र पशुचौपायालाई मार्न थालेपछि त्यसक्षेत्रका स्थानीयको ज्यान बचाउन आग्रह गरेका हुन् । वडा नम्बर ७ का अध्यक्ष रामलखन थारूले राप्ती सोनारी क्षेत्रका नागरिकको सुरक्षाको ग्यारेन्टी आवश्यक रहेको बताउनुभयो ।
दुई हात्ती परिचालन
यता, निरन्तर पाटेबाघको आक्रमण बढेपछि निकुञ्ज क्षेत्रमा दुईवटा हात्ती परिचालन गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जले हात्तीसहित गस्ती सुरु गरेको हो । हात्ती देखेर बाघ डराउने भएकाले निकुञ्जले डिभिजन वन कार्यालय बाँकेको समन्वयमा ढकेरीबाट हात्ती ल्याइएको थियो ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले पाटेबाघ नियन्त्रणको लागि नियन्त्रणमा लिनको लागि समन्वय भइरहेको बताउनुभयो । यस्तै, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार शाहले पछिल्लो समय पाटेबाघ र मान्छेहरू बीच पछिल्लो समय भइरहेका घटना हुन नदिन जरुरी रहेको बताउनुभयो ।




















