न्यायोचित अवसर नपाए कांग्रेसमै किन बस्ने ? भन्ने प्रश्न पनि उठ्न सक्छ : कोइराला
[ नारायण भण्डारी ]
काठमाडौं:= नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरू मनोनीत गरिएको हो ? भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ । बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समूहबाट निर्वाचन लडेका नेताहरूको बैठकलाई सम्बोधन गर्दै ‘केन्द्रीय सदस्यहरूलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो ?’ भन्दै सभापति देउवालाई प्रश्न गर्नुभएको हो । उहाँले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनुपर्ने मागसमेत गर्नुभयोे ।
उहाँले यस्ता विषयमाथि सभापतिले ध्यान नपु¥याए पार्टीभित्र नेता कार्यकर्तामाझ आखिर कांग्रेसमै किन बस्ने भन्ने प्रश्न उठ्ने र त्यसले विभाजनको अवस्था ल्याउन सक्नेसम्मको संकेत गर्नुभएको छ । ‘महाधिवेशन भर्खरै सम्पन्न भएको छ, अहिले पार्टी संगठनभित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन, तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान्, इमानदार, त्यागी र सक्षम नेता कार्यकर्ताहरूलाई नियोजित किसिमले पाखा लगाउने कामविरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ । हामी लोकतन्त्रवादीहरू राजनीतिक खेल एउटा नियमसंगत रूपमा अगाडि बढोस् भन्ने चाहन्छौँ, सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौँ, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्छ,’ कोइरालाले भन्नुभएको छ, ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने ? भनी प्रश्न उठ्न सक्छ ।’
साथै, पार्टी सभापतिलाई मन पर्ने र मन नपर्ने आधारमा व्यक्तिको छनोट भएमा दुर्घटना निम्तिन सक्ने चेतावनीसमेत दिनुभयो । ‘के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ । सभापतिको लाइक र डिसलाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्न जरुरी छ’ उहाँले भन्नुभयो । कोइरालाले पार्टीका निष्ठावान्, इमानदार र त्यागी नेता, कार्यकर्ताहरूलाई पाखा लगाउने कामविरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए आगामी निर्वाचनहरू असहज हुन सक्ने उहाँको भनाइ छ ।
उहाँले आगामी तीनवटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्नुपर्ने बताउनुभयो । ‘अब आउने तीनवटा निर्वाचन हामीहरूको सम्मुख छ । नेपाली कांग्रेस एक्लै लड्छ र हामी विजय प्राप्त गर्छौं भन्ने कुरा पनि तपाईंहरूको माझमा म भन्न चाहन्छु । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरि साथीहरूसामु जानेछौँ’ उहाँले भन्नुभयो । उहाँले आफ्नो समूह पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन नसके पनि पार्टीभित्र हुने सबै कार्यहरू न्यायसंगत, विधि र विधानसम्मत, विवेकपूर्ण र व्यावहारिक तरिकाबाट निर्णय गराउन आवाज उठाउने बताउनुभयो । काठमाडौंस्थित होटल बसेरामा नेता कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । बैठकमा पार्टीको १४औँ महाधिवेशनको समीक्षा गर्नुका साथै आगामी कार्यदिशाको सम्बन्धमा छलफल भएको थियो । कोइरालाले बोलाएको यो भेलामा यसअघिको पौडेल समूहका नेता रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहबाहेक सबैजसो नेताहरू सहभागी भएका थिए ।




















