एम्बाप्पेको हृयाट्रिकमा पिएसजीको सानदार जित।

पेरिस:= केलियन एम्बाप्पेको हृयाट्रिक मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कप डि फ्रान्समा भान्नेसमाथि ४-० को सानदार जित हात पारेको छ । जितसँगै पिएसजीले अन्तिम १६ मा स्थान पक्का गरेको छ । पिएसजीको जितमा एम्बाप्पेले हृयाट्रिक गर्नुका साथै प्रेसनेल किमपेम्वेले एक गोल थप्नुभएको थियो ।

सोमबार राति भएको खेलको २८औँ मिनेटमा प्रेसनेल किमपेम्वेले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा १-० को अग्रता दिलाउनुभयो । दोस्रो हाफमा एम्बाप्पेले १७ मिनेटको अन्तरमा हृयाट्रिक पूरा गर्नुभयो । ५९औँ मिनेटमा एम्बाप्पेको गोलबाट पिएसजीले अग्रता दोब्बर पार्‍यो । ७१औँ र ७६ औँ मिनेटमा लगातार गोल गर्दै एम्बाप्पेले आफ्नो हृयाट्रिक पूरा गर्नुभयो ।

यता, इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड वल्भ्ससँग १-० ले स्तब्ध बनेको छ । सोमबार राति भएको खेलमा वल्भ्सका जोओ मौटिन्होले गर्नुभएको एकमात्रै गोल निर्णायक बन्यो । ८२औँ मिनेटमा जोओले खेलको निर्णायक गोल गर्नुभएको थियो । यो हारसँगै युनाइटेड १९ खेलबाट ३१ अंक जोडेर छैटौँ थानमा रहेको छ । वल्भ्स २८ अंक जोडेर आठौँ स्थानमा उक्लिएको छ ।