राप्रपा अध्यक्ष लिङ्देनद्वारा केन्द्रीय समिति विस्तार, ३१ जना मनोनीत।

काठमाडौं:= राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार ३१ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश, भूगोलमा योगदान गरेका नेता तथा कार्यकर्तालाई योगदानका आधारमा पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरिएको पार्टीले जनाएको छ । केन्द्रीय सदस्य मनोनयन हुनेमा राष्ट्रिय पञ्चायतका पूर्व–अध्यक्ष नवराज सुवेदी, पूर्वमन्त्री दीपक बोहरासहित रहनुभएको छ । महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका वरिष्ठ र युवा नेताहरूलाई कार्य समितिमा मनोनयन गरिएको हो ।

अध्यक्ष लिङ्देनद्वारा जारी विज्ञप्तिका अनुसार मनोनीत सदस्यमा रुपन्देहीबाट दीपक बोहरा र नीरञ्जन थापा, उदयपुरबाट हरिबहादुर बस्नेत, रामेछापमा नवराज सुवेदी र दिनेश कार्की, रोल्पाबाट बालाराम घर्तीमगर, भोजपुरबाट टंक ढकाल, बाँकेबाट प्रेमबहादुर भण्डारी, म्याग्दीबाट भीमप्रसाद गौचन, लमजुङबाट हेमजंग गुरुङ, धादिङबाट ठाकुरप्रसाद शर्मा, सुनसरीबाट रामकुमार सुब्बा, सुर्खेतमा मुकुन्दश्याम गिरी, भक्तपुरबाट दिनेश श्रेष्ठ, झापाबाट भक्तिप्रसाद सिटौला, गोरखाबाट मोहनकुमार श्रेष्ठ, नुवाकोटबाट झनक प्याकुरेल, अछामबाट श्यामबहादुर शाही, सोलुखुम्बुबाट एजी शेर्पा, ललितपुरबाट पुष्पराज पुरुष हुनुहुन्छ ।

त्यस्तै, जुम्लाबाट रमानन्द न्यौपाने, नवलपरासीबाट सरोजा शर्मा, सिराहाबाट रामप्रताप साह, खोटाङबाट रवीन चाम्लिङ, स्याङ्जाबाट उदयराज पोखरेल, काठमाडौंबाट प्राडा गीताभक्त जोशी, सरस्वती अधिकारी र नवीन शाही, कैलालीबाट वीरेन्द्र बम, रुकुम पूर्वबाट केशवचन्द्र समाल, झापाबाट अम्बरबहादुर विष्ट हुनुहुन्छ । गत मंसिरमा महाधिवेशन सम्पन्न गरेको पार्टीले छिट्टै केही अग्रज नेतालाई विभिन्न विभागमा प्रमुखको जिम्मेवारी तोक्ने जनाइएको छ । राप्रपाको विधानमा १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । विधानअनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर मनोनयन गरेको श्रेष्ठले बताउनुभयो ।