लण्डन:= इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सी र मर्सिसाइड क्लब लिभरपुलले बराबरी खेलेका छन् । घरेलु मैदानमा चेल्सीले २-० ले पछि परेको स्थितिमा लिभरपुललाई २-२ गोलको बराबरीमा रोकेको हो ।
लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाह र चेल्सीका लागि माटियो कोभासिस र क्रिस्टियन पुलिसिसले एक/एक गोल गर्नुभयो । खेलको नवौँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाउनुभयो । १९औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पार्नुभयो ।
४२औँ मिनेटमा माटियो कोभासिसले चेल्सीका तर्फबाट एक गोल फर्काउनुभयो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पुलिसिसले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याउँदै खेल रोमाञ्चक बनाउनुभयो । त्यसपछि भने खेलमा कुनै गोल हुन सकेन ।
यो बराबरीसँगै चेल्सी २१ खेलबाट ४३ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहँदा एक खेल कम खेलेको लिभरपुल ४२ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ । यस्तै, लिगको अन्य नतिजामा ब्रेन्टफर्डविरुद्ध एस्टन भिल्ला (२-१), एभर्टनविरुद्ध ब्राइटन (२-३) र लिड्सविरुद्ध बर्नले (३-१) ले विजयी भएका छन् ।




















