काठमाडौं:= संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई युरोपेली युनियन (इयु) को कालोसूचीबाट हटाउने विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले इयुको कालोसूचीबाट हटाउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसद्मा विधेयक पेश भइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन्, अब प्रतिनिधिसभाबाट पनि छिट्टै विधेयक पारित गराएर नेपाललाई इयुको कालोसूचीबाट बाहिर ल्याउँछौँ। यी विषयमा सरकार संवेदनशील छ ।’ मन्त्री आलेले नेपालबाट बेलायतसम्मको सिधा हवाई उडानको प्रस्ताव पनि आफूले राखेको जानकारी गराउनुभयो । मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा रहेको बताउनुभयो ।
उहाँले कोरोनाको गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको पनि जानकारी गराउनुभयो । समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गरिने उहाँले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोरोनाबाट अति प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थानका लागि आन्तरिक र बाहृय पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोनाविरुद्धको भ्याक्सिनको पूर्ण मात्रा सबै नेपालीलाई शीघ्र उपलब्ध गराई बुस्टर डोजसमेत छिटो लगाउने प्रबन्ध मिलाउन आग्रह गर्नुभयो।
अध्यक्ष अग्रवालले कोरोनाका कारण शिथिल व्यवसायको पुनरुत्थानका लागि सरकारले दिने घोषणा गरेको राहतका कार्यक्रम अझै कतिपय व्यवसायीले नपाएको गुनासो रहेको भन्दै गुनासो सम्बोधनका लागि आग्रहसमेत गर्नुभयो । उहाँले बंगलादेशका लाखौँ पर्यटक नेपाल भित्र्याउने गरी दुईपक्षीय सम्झौता गरेर अघि बढ्न पनि सरकारसँग आग्रह गर्नुभयो ।
भेटमा परिसंघको पर्यटन समिति सभापति पम्फा धमला, परिसंघका राष्ट्रिय परिषद् सदस्य एवं प्रदेश १ का अध्यक्ष भीमप्रसाद घिमिरे, परिसंघ पर्यटन समितिका सदस्य हिक्मत सिंह ऐर र परिसंघका महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति रहेको परिसंघले जनाएको छ ।



















