काठमाडौं:= नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो । पार्र्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेता रामचन्द्र पौडेलसहितका १० जना केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
केन्द्रीय सदस्य मनोनीत हुनेमा नेता पौडेलसहित विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा हुनुहुन्छ । सिंह र निधिले सभापतिमा पहलो चरण प्रतिस्पर्धा गरेर दोस्रो चरणमा देउवालाई समर्थन जनाउनुएको थियो । त्यस्तै, गच्छदार र कोइराला उपसभापतिमा पराजित हुनुभएको थियो भने डा. महत महामन्त्रीमा पराजित हुनुभएको थियो । पौडेल, सिटौलासहितका अन्य नेताहरू भने चुनावी प्रतिस्पर्धामा सहभागी हुनु भएको थिएन ।
देउवाले महाधिवेशन प्रतिनिधिहरूबाट ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्न पाउने विधानमा व्यवस्था छ । सभापतिका मुख्य प्रत्यासी शेखर कोइराला भने स्वतः केन्द्रीय सदस्यमा मनोनयन हुने प्रावधान छ । सभापतिको निकट्म प्रतिद्वन्द्वी स्वतः सदस्य हुने प्रावधान विधानमा राखिएको छ । यसअघि कांग्रेस महाधिवेशनमा सभापति र पदाधिकारीसहित १३४ जना निर्वाचित भएका थिए ।
राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल मात्र हो : देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको संविधानमा राज्यका रहेक निकायमा महिला अधिकारको सुनिश्चितता गरिएको बताउनुभएको छ । शनिबार बालुवाटारमा कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तकको विमोचन गर्दै उहाँले महिला अधिकार र सहभागिताका सवालमा सरकार तथा राजनीतिक दलहरू पनि गम्भीर रहेको बताउनुभएको हो ।
कांग्रेस सभापतिसमेत रहनुभएका देउवाले महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल विशेष मुलुक भएको बताउनुभयो । उहाँले राष्ट्राध्यक्षका रूपमा राष्ट्रपति, सभामुख, उपसभामुख तथा गाउँपालिकादेखि नगरपालिकासम्म प्रमुख र उपप्रमुख पदमा महिलाले नेतृत्व गरिरहेको उल्लेख गर्नुभयो । ‘नेपाल मात्रै एउटा यस्तो देश हो, जुन देशमा ३३ प्रतिशत महिलाहरूलाई हरेक ठाउँमा अधिकार दिइएको छ । नेपालमा पार्टीहरूले पनि ३३ प्रतिशत महिलालाई आरक्षण दिएका छन्, देउवाले भन्नुभयो, ‘त्यो उनीहरूले पाउँछन् । स्थानीय तहमा हेर्ने हो भने ४०/४१ प्रतिशत महिला आरक्षणको व्यवस्था छ ।
राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा महिला, सभामुख र उपसभामुखमा एउटा महिलालगायत धेरै ठाउँमा मेयर र उपमेयरमा एउटा महिला, त्यस्तै गाउँपालिकादेखि लिएर सबै ठाउँमा महिलाहरूलाई हामीले आरक्षणको व्यवस्था गरेका छौँ ।’ उहाँले दलित, आदिवासी, जनजाति पिछडिएका क्षेत्रलाई आरक्षण दिएर समावेशी समानुपातिक प्रतिनिधित्व गराएको भन्दै भोलिका दिनमा पनि पार्टी संरचनादेखि राज्यका हरेक निकायमा महिला सहभागिता बढाउने गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।




















