काठमाडौं:= बलिउडकी चर्चित गायिका अशिष कौर आउँदो जनवरी ८ मा नेपाल आउने हुनुभएको छ । दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ अशिष कौर’ कन्सर्टका लागि उहाँ नेपाल आउने हुनुभएको हो ।
फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गर्ने कन्सर्टमा अशिष कौरका अलवा नेपाली गायक याबेश थापाको समेत प्रस्तुति रहने आयोजक संस्थाका सिइओ शाहिल खानले बताउनुभयो । अशिष कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट रहेको छ । कौरले इण्डियन आइडल, आवाज पञ्जाव दीलगायत विभिन्न गायन रियालिटी शोमा भाग लिनुभएको थियो । सन् २०२० मा खुदा हाफिज फिल्मको ‘जान बन गए’ बोलको गीतले उहाँलाई चर्चामा ल्याएको थियो ।
पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’मार्फत् बलिउडमा डेब्यु गर्नुभएको थियो । केसरी फिल्मको ‘भे माही’, ड्राइभ फिल्मको ‘मखना’, सिम्बा फिल्मका दुई गीत ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, लभयात्री फिल्मको ‘आख लड जावे’, ‘छोगडा’ र कपुर्स एण्ड सन्स फिल्मको ‘बोल्ना’ गीतमा उहाले आफ्नो स्वर दिइसक्नुभएको छ । कार्यक्रमका लागि कौर ७ जनवरीमा नेपाल आइपुग्ने बताइएको छ ।




















