काठमाडौं:= १५ वर्षको उमेरमा तेजाब आक्रमणमा पर्नुभएकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लाग्नुभएको हो ।
सन् २०१९ मा मुस्कानले एक किशोरको प्रेम प्रस्ताव गरेपछि उहाँमाथि तेजाब आक्रमण भएको थियो । आक्रमणमा परेपछि उहाँले दुईपटक गरी करिब सात महिना अस्पतालमा उपचार गराउनु भएको थियो ।
चलचित्र ‘बुद्ध बर्न इन नेपाल’का निर्माता तथा अभिनेतासमेत रहेका रमितले आफूले सामाजिक विषयवस्तुमा चलचित्र बनाउने तयारी गरिरहेकाले त्यसको पहिलो सिर्जना मुस्कानको बायोपिक हुने बताउनु भएको छ ।
चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले अहिले प्रि–प्रोडक्सनमा रहेको चलचित्र यही पुस महिनाको अन्तिम साताबाट फ्लोरमा जाने जानकारी दिनुभयो । अभिनेता रमितले ‘बुद्ध बर्न इन नेपाल’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको दाबी गर्दै मुस्कानको बायोपिकको नाम केही दिनमा सार्वजनिक गर्ने खुलाउनुभएको छ ।




















