जनकपुरधाम:= गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ । मंगलबार जनकपुरधाममा नेपाली कांग्रेसका चर्चित नेता स्व. राम नारायण मिश्रको ५४औँ पुण्यतिथिमा सहभागी हुनुभएका गृहमन्त्री खाँणले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै एमसिसी सम्झौता पूर्ववर्ति सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभयो । उहाँले एमसिसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एमसिसी पूर्ववर्ति सरकारहरूको पालोमै अगाडि बढेको हो । यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसिसीको प्रस्तावलाई अगाडि बढाएको हो । नेपाल सरकार र एमसिसी परियोजनाको बीचमा धेरै वर्ष अगाडि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो ।’ गृहमन्त्री खाँणले एमसिसी परियोजना ऋणमा नभई निःशर्त अनुदान भएको स्पष्ट पार्नुभयो । सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसिसी परियोजना आएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एमसिसीको बारेमा केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको पनि ट्रान्समिसन स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । र त्यसलाई उहाँहरूले स्वीकार गर्नुभएको हो । यो निःशर्त अनुदान हो । एमसिसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो ।
दलहरूको बीचमा छलफल भइराख्या छ । छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडि बढ्छ ।’ उहाँले एमसिसी संसद्बाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरूबीचमा छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडि बढ्ने बताउनुभयो ।




















