पाटाद्वारा युवा सेफ प्रतियोगिता।

काठमाडौं:= प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले ग्लोबल कलेज इन्टरनेसनलसँगको सहकार्यमा शनिबार काठमाडांैस्थित ग्लोबल कलेज इन्टरनेसनलमा ‘एक्सप्लोरिङ द अथेन्टिक डेलिकेसिज अफ नेपाल’ अन्तर्गत पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता आयोजना गरेको छ, जुन पाटा युथ ट्यालेन्ट क्वेस्टको चौथो संस्करणअन्तर्गत आयोजित एक कार्यक्रम हो ।

वार्षिकरूपमा आयोजना गरिने युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्य तथा पाटा नेपाल च्याप्टरमा आबद्ध सदस्य शैक्षिक संस्थामा हस्पिटालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीको ज्ञान, सीप र क्षमता प्रतिस्पर्धामार्फत् प्रस्फुटित गराउन तथा नेपाली पर्यटन क्षेत्रमा भावी सवल पर्यटन जनशक्तिको खोजमूलक अभियानका रूपमा अगाडि बढेको छ ।

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) मा अध्यनरत रुवी पुडासैनी र सुन्दर शेर्पाले विजेताका रूपमा पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिताको उपाधि प्राप्त गरेको पाटाले जनाएको छ ।  त्यसैगरी नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) को प्रतिनिधित्व गर्दै पासाङ ल्हामु शेर्पा र सोना श्रेष्ठ प्रथम उपविजेता र सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टको प्रतिनिधित्व गर्दै सन्देश कँडेल र पेमा तामाङ उपविजेता बन्नुभएको छ । दुुई विजेतालाई पाटा नेपाल च्याप्टरबाट सेफ सन्तोष शाहसँगको विशेष मेन्टरसिप कार्यक्रम र अन्य आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सो अवसरमा पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुनिल शाक्यले पाटाको पहलले नेपाललाई हिमाल र साहसिक पर्यटनका अतिरिक्त संस्कृति र खानाका लागि उत्कृष्ट गन्तव्यका रूपमा प्रवद्र्धन गर्न र दीर्घकालीन रूपमा भविष्यमा नेपाली सेफ निर्माण गर्ने अभियानमा उल्लेखनीय सहयोग हुने बताउनुभयो ।

ग्लोबल कलेजका निर्देशक डा. देवराज पनेरुले आफ्नो कलेजले विद्यार्थीको बहुआयामिक विकासका लागि ५० भन्दा बढी संस्थासँग सहकार्य र साझेदारी गरेको बताउनुभयो । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बडालले गत अप्रिलमा पब्लिक स्पिकिङ प्रतियोगिता, टुरिजम एन्ड हस्पिटालिटी क्विज, पाटा फुटसल प्रतियोगिता र कन्टेन्ट राइटिङ प्रतियोगितालगायतका चार प्रमुख प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै पाटा नेपाल च्याप्टरले आगामी मार्चमा पाटा युथ ट्यालेन्ट क्वेस्टको पाँचौँ संस्करण आयोजना गर्ने बताउनुभयो ।

पाटा नेपाल च्याप्टरमा आबद्ध पाँच प्रमुख होटल व्यवस्थापन सदस्य शैक्षिक संस्था सिल्भर माउन्टेन, गेट, जिसिआई, आइएसटी र नाथमको प्रतिनिधित्व गर्दै भविष्यमा नेपाली सेफ बन्न चाहने उत्कृष्ट १० विद्यार्थी प्रतियोगितामा सहभागी भएको बताइएको छ । प्रतियोगितामा सेफ गोविन्द नरसिंह केसी, सेफ जितेन प्रधान, सेफ सुनसरी नेपाली र सेफ विक्रम गिरीलगायत विशिष्ट व्यक्तित्वको निर्णायक मण्डलले सहभागीका पाककला र दक्षताको मूल्यांकन गर्नुभएको थियो ।