काठमाडौं:= राइजिङ स्टार कल्चर ग्रुप, चन्द्रागिरिले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा ‘राष्ट्रिय स्रष्टा तथा कलाकार सम्मान’ गरेको छ । राजधानीमा शनिबार आयोजित वार्षिकोत्सव समरोहमा सञ्चार, चलचित्र, गीतसंगीत तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको हो ।
केटिएम जाम डान्स व्याटलका विजेतालाई पुरस्कृत गरिएको कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगद राशीसहित उत्कृष्ट चलचित्र पत्रकार सम्मानबाट सम्मानित हुनुभयो । विगत दुई दशकदेखि अनवरत रूपमा पत्रकारितामा समर्पित सुवेदीलगायत सम्मानित व्यक्तित्वलाई कार्यक्रमकी प्रमुख अथिति बागमती प्रदेशकी समाजिक विकास मन्त्री कुमारी मोक्तान, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर लिसा नकर्मी, चन्द्रागिरि नगरपालिका वडा–७ का अध्यक्ष शम्भुकुमार केसी, बागमती प्रदेश सदस्य रमा आलेमगर, कार्यक्रम आयोजक संस्थाका अध्यक्ष विक्रम तामाङलगायतले सम्मान पत्र तथा खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा चलचित्र निर्देशक मधुसूदन भट्टराई उत्कृष्ट निर्देशक सम्मान, गायक सुरज पौडेल र नवीनकुमार पौडेललाई उत्कृष्ट गायक सम्मान, विद्या तिवारीलाई उत्कृष्ट गायिका, तुलसीप्रसाद श्रेष्ठ, भुवनकुमार काफ्ले र विकास चापागाईंलाई उत्कृष्ट कलाकार सम्मान तथा काजीमान श्रेष्ठ र वीरकृष्ण श्रेष्ठलाई खेलाडी सम्मान प्रदान गरिएको थियो ।




















