म्याड्रिड:= स्पेनिस ला लिगामा दोस्रो स्थानमा आसिन सेभिया र बार्सिलोनाले जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले एट्लेटिको म्याड्रिडलाई २–१ गोलले हरायो । बार्सिलोनाले इल्चेमाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्यो ।
सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले गोल गर्नुभयो । एट्लेटिकोका फिलिपेले एक गोल फर्काउनुभयो । प्रतिस्पर्धात्मक खेलमा सेभियाले सातौँ मिनेटमा खाता खोलेको थियो । राकिटिकले करिम रिकिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो ।
३३औँ मिनेटमा फिलिपेले बराबरी गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । फिलिपेले थोमस लेमारको पासमा गोल गर्नुभएको थियो । ८८औँ मिनेटमा लुकास ओकम्पोसले जुलेस कोन्डेको पासमा गोल गर्दै सेभियालाई जिताउनुभयो । सेभियाका इभान राकिटिक ‘म्यान अफ द म्याच’ हुनुभयो ।
जितसँगै सेभियाले दोस्रो स्थानका लागि थप बलियो बनाएको छ । १७ खेल सकेको सेभियाको ३७ अंक छ । पराजित एट्लेटिको २९ अंकसहित पाँचौंँ स्थानमा झरेको छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ४२ अंक छ ।
यसैगरी घरेलु मैदानमा बार्सिलोनालाई जिताउन फेरान जुटग्ला, पाब्लो गाभिरा र निकोले गोल गर्नुभयो । इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गर्नुभएको थियो । जारी सिजन खराब लयबाट गुज्रिएको बार्सिलोनाको पछिल्लो पाँच खेलमा यो पहिलो जित हो । बार्सिलोनाले १६औँ मिनेटमा फेरानको गोलमा अग्रता लिएको थियो । पाब्लोले १९औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाउनुभयो ।




















