आलोचनापछि पारसको फेसबुक र इन्स्टाग्राम पोस्ट डिलिट।

काठमाडौं:= नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले आलोचनापछि फेसबुक र इन्स्टाग्राममा गरेको एउटा पोस्ट केही घण्टापछि हटाउनुभएको छ । पूर्वकप्तान खड्काले बिहीबार बिहान इन्स्टाग्राममा कसरी लाइक र फलोअर कमाउने भन्दै फेसबुक र इन्स्टाग्राममा एउटा व्यंग्यात्मक पोस्ट गर्नुभएको थियो । खड्काले गरेको उक्त पोस्ट सन्दीप लामिछाने लक्षित भएको भन्दै आलोचनायुक्त कमेन्ट आएको थियो ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्लाई पदमुक्त गर्दै बुधबार सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको थियो । दुई वर्षअघि लामिछानेले सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममा पारस खड्कालाई अनफलो गर्नुभएको थियो । लोकप्रिय क्रिकेट कप्तानलाई अनफलो गरेको भन्दै उक्त समयमा लामिछानेको आलोचना भएको थियो ।

यो घटनालाई लिएर खड्का र लामिछानेबीचको सम्बन्ध राम्रो नभएको टिकाटिप्पणी हुँदै आएको छ । खड्काले बिहीबार गरेको पोस्टमा इन्स्टाग्राममा लोकप्रिय हुनका लागि अरूलाई अनफलो गर्ने र सोही व्यक्तिको पोस्ट हेर्नुपर्ने भन्दै व्यंग्य गरिएको छ ।