काठमाडौं:= प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अमेरिकी सहयोग परियोजना एमसिसीलगायत विषयमा सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव तथा छोरी गंगा दाहालले सर्वदलीय सम्मेलनलगायत विषयमा छलफल गर्ने तयारीस्वरूप प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘भेटमा अध्यक्ष कमरेड प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापतिमार्फत बधाई तथा शुभकामना प्रदान गर्नुभयो । भेटको अवसरमा एमसिसी, सदन सुचारु गर्नेलगायत समसामयिक राष्ट्रिय मुद्दामा छलफल भयो ।
सोही अवसरमा अध्यक्ष कमरेड प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।’ प्रचण्डको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री देउवाले अब प्रतिनिधिसभाको अर्को बैठक पुस ६ अघि नै आइतबार वा सोमबार बोलाउने तयारी गर्नुभएको छ ।
एमसिसी परियोजना पारित गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ दलभित्रै तीव्र विवाद छ । प्रधानमन्त्री देउवा निशर्त संसद्बाट पास गरेर कार्यान्वयन गराउने पक्षमा हुनुहुन्छ भने प्रचण्ड, माधवकुमार नेपाल संशोधन गरेर राष्ट्रिय हितविपरीत नहुने गरी पास गराउने पक्षमा हुनुहुन्छ ।
अमेरिकाले भने नेपालबाट यो परियोजना पारित गराउन ताकेता गर्दै समय थपिदिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रधानमन्त्री देउवा अवरोधरहित ढंगले संसद्को जारी अधिवेशन सञ्चालन गर्नेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुटिरहनु भएको छ ।
सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने ५५ अर्बभन्दा बढीको एमसिसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा पनि सर्वदलीय बैठकमा छलफल हुने बताइएको छ ।




















