बंगलादेशले नेपालमा हाल खेर गइरहेको विद्युत् खरिद गर्न तयार।

काठमाडौं:= बंगलादेशले नेपालमा हाल खेर गइरहेको विद्युत् खरिद गर्ने भएको छ । साथै नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता (पिपिए) गर्नसमेत बंगलादेशले गृहकार्य सुरु गर्ने भएको छ । नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गत वर्ष पाँच सय मेगावाट विद्युत् खेर गएको थियो भने पाँच अर्ब रुपैयाँ नोक्सान भएको थियो । पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाहृय बजार अभावका कारण उत्पादित विद्युत् खेर गएको हो ।

बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादित विद्युत् आगामी वर्षदेखि खरिद गर्ने बताउनुभएको परिसंघले जनाएको छ । हमिदले नेपालबाट विद्युत् आयातका लागि प्रसारण लाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइन निर्माणको थालनी गर्ने बताउनुभएको छ ।

उहाँले सन् २०२६ सम्ममा नेपालमा खेर जाने ३५ सय मेगावाट समेत खरिद गर्ने बताउनुभएको छ । राज्यमन्त्री हमिदले जनवरी २०२२ देखि उक्त विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू मार्चमा नेपाल भ्रमण गरेर टुंगो लगाउने जानकारी गराउनुभयो ।

बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग सिधै पिपिए गराउने गृहकार्य सुरु गरिने पनि उहाँले बताउनुभएको परिसंंघले जनाएको छ । भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत् व्यापारको ढोका खुलेको छ । उक्त कार्यविधिले अन्तरदेशीय विद्युत् व्यापारमा नियमन र कानुनी संयन्त्रसम्बन्धी द्विविधा अन्त्य गरेको छ ।

नेपालको विद्युत्को सम्भाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत् व्यापारमा आशावादी भएको छ । बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ र अबको चार वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने उसको तयारी छ । नेपालमा उत्पादित विद्युत् बंगलादेशका लागि आधा सस्तो पर्छ ।

भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युत्मा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न र नेपालका निजी क्षेत्रसँग सिधै पिपिए गरेर विद्युत् खरिद गर्न आग्रह गर्नुभयो । सो अवसरमा परिसंघको पूर्वाधार समितिका सभापति एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का उपाध्यक्ष आशिष गर्गले नेपालमा विद्युत् उत्पादन र विद्युत् खपत अवस्थाबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

भेटमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे, नेपाली राजदूतावास ढाकाका कार्यबाहक राजदूत कुमार राई र परिसंघका महानिर्देशक यादवप्रसाद पौडेल र निर्देशक सविन मिश्रको उपस्थिति रहेको परिसंघले जनाएको छ ।