लिकबाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउने काम नयाँ पार्टीले गर्छ : त्रिपाठी
[ सन्दीप पौड्याल ]
काठमाडौं:= मधेसी पार्टीबाट अलग भएर स्वतन्त्ररूपमा राजनीतिक गतिविधि गर्दै आउनुभएका सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्नुभएको छ । पूर्व–मन्त्रीसमेत रहनुभएका त्रिपाठीले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नयाँ पार्टीको घोषणा गर्नुभएको हो । उहाँले पार्टीको नाम जनता प्रगतिशील पार्टी (जप्रपा) राख्नुभएको छ ।
पार्टी घोषणा कार्यक्रममा त्रिपाठीले देशमा पार्टीको आभाव भएर नयाँ दल गठन गरेको नभई दलहरूबीच वैचारिक बहस प्रायः शून्य भएकाले पार्टी गठन गर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्यवयनलाई बाधा उत्पन्न भई देशको राजनीति नै लिकभन्दा बाहिर गइरहेको देखिन्छ अन्य दलको आलोचना गरेर आफू असल दल सावित गर्ने अस्वस्थ्य प्रतिस्पर्धामा हाम्रो रुचि रहने छैन तसर्थ अन्य दलप्रति हाम्रो आत्मीय सम्मान छ ।’
उहाँले वर्तमान परिदृश्यमा दलहरूबीच न्यूनतम साझा विषयहरूमा राष्ट्रिय सहमतिको नितान्त आवश्यकता रहेको भन्दै यसले नै लिकबाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउने र संविधानलाई चलायमान बनाउने बताउनुभयो । उहाँले संविधान कार्यान्वयनको क्रममा देखिएका जटिलताको पहिचान गरी आगामी निर्वाचन पूर्व-सहमति प्राप्त बुँदाहरूमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै आफ्नो पार्टीले संविधान संशोधनका लागि काम गर्ने पनि बताउनुभयो ।
पूर्व–मन्त्री त्रिपाठीले संविधान संशोधन, लेखापरीक्षण, स्थानीय तहको सीमांकन, मुलुकको अर्थतन्त्र, मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेशाहरूको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरूमा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताउनुभयो ।
उहाँले प्रतिनिधिसभा सदस्य रेशम चौधरी हालसम्म जेलमा रहनु विडम्बना भएको पनि बताउनुभयो । पूर्व–मन्त्री त्रिपाठीले एमसिसीलगायत कतिपय विषयहरूमा राष्ट्रिय सहमति खोज्नुपर्ने पनि बताउनुभयो । कार्यक्रममा उहाँले आफ्ना भनाइहरूलाई नौ वटा बुँदामार्फत प्रस्तुत गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा कांग्रेस नेता दमननाथ ढुंगाना, पूर्व-सचिव रामेश्वर खनाल तथा लेखक तुलानारायण साहसमेत सहभागी हुनुहुन्थ्यो । पार्टीमा उहाँहरूको भूमिकाबारे भने केही खुलाइएन। त्रिपाठी लामो समयदेखि नयाँ पार्टी घोषणा गर्ने तयारीमा लाग्नुभएको थियो । पछिल्लो समय उहाँ स्वतन्त्र अभियानमा जोडिनुभएको थियो ।
उहाँ २०७४ सालको प्रतिनिधिसभा चुनावअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट अलग हुनुभएको थियो । उहाँले नेकपा (एमाले)सँग मिलेर सूर्य चिन्हबाट चुनाव लड्नुभएको थियो । संसदीय निर्वाचनमा एमालेको चुनाव चिन्हमा उम्मेदवार बन्नुभएका त्रिपाठी प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँले कार्यक्रममा आफ्नो समूहमा रहेका नेता तथा कार्यकर्ता नयाँ पार्टीमा आउने विश्वाससमेत व्यक्त गर्नुभएको छ।
‘कृषि र पर्यावरण पहिलो प्राथमिकता’
त्रिपाठीले आफ्नो दल किसान आधारित प्रगतिशील पार्टी हुने जिकिर गर्नुभयो । कार्यक्रममा जारी गरिएको विज्ञप्तिमा उहाँले कृषि र पर्यावरणलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ । मुख्य बालीको रूपमा रहेका धान, गहुँ, उखु, स्याउ, केरा, अदुवा, सुन्तला, दुग्ध लगायतको उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न विशेषज्ञ सम्मिलित स्थायी प्रकृतिको उच्चस्तरीय मूल्य निर्धारण आयोग गठन हुनु आवश्यक रहेको उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, तराई मधेशका विभिन्न सामाजिक समूह आदिवासी जनजातिहरूसँग रहेका पारम्परिक पेशालाई समयानुकूल बनाउँदै सो पारम्परिक पेशाहरूको संरक्षण तथा विकास गर्दै जीवनयापनको भरपर्दो साधनका रूपमा रूपान्तरित गर्नु आवश्यक रहेको उहाँले बताउनुभएको छ । पारम्परिक पेशा, सीप र ज्ञान पुस्तान्तरण हुँदै जीवन्त रहने र अर्कोतिर ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।
उहाँले जन्मको आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गरिसकेका नेपाली नागरिकको सन्तानले नागरिकताको प्रमाणपत्र पाउन नसक्नु दुःखद भएको टिप्पणी गर्नुभएको छ । केही कानुनी व्यवस्थाको निर्माणले यो कुरा सहज हुने भन्दै उहाँले आफ्नो पार्टीको जोड यो कुरामा समेत केन्द्रित हुने प्रष्ट पार्नुभयो । त्रिपाठीले भन्नुभयो, ‘ती व्यक्तिहरू कष्टकर जीवन बिताउन बाध्य छन् । साथै संविधानमा उल्लेख भएको आमाको नागरिकताको आधारमा नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने कानुनको आभावले यो पनि कार्यान्वयन हुन सकेको छैन यस विषयको समाधान अविलम्ब हुनु आवश्यक छ ।’




















