एमालेमा असन्तुष्टि बढ्दै, केन्द्रीय सदस्य मनोनयन र जिम्मेवारी तत्काल सच्याउन आग्रह।

[ चिन्तन क्षेत्री ] 

काठमाडौं:= नेकपा एमालेको केन्द्रीय कमिटी बैठकबाट भएको पोलिटब्युरो र स्थायी कमिटी गठन, केन्द्रीय सदस्यहरूको मनोनयन लगायतका विषयमा असन्तुष्टि बढेको छ । एमाले अध्यक्ष ओलीले आफूनिकटका व्यक्तिहरूलाई मनोनयन गरेको, पूर्व-माओवादीबाट आएकाहरूलाई जिम्मेवारी दिइएको तर १० बुँदे सहमति गरेकाहरूलाई पाखा लगाउन खोजिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन् ।

केही नेताहरूले बैठकमा नै ओलीसँग असन्तुष्टि राखेका थिए । केहीले सामाजिक सञ्जालमार्फत पनि आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् । एमाले दोलखाका जिल्ला अध्यक्षले भने पदबाटै राजीनामा दिनुभएको छ । कतिपय नेताहरू वरीयता क्रमलाई लिएर असन्तुष्ट रहेका बेला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले पदबाटै राजीनामा दिनुभएको छ । केन्द्रीय कमिटी सदस्य मनोनयनमा असन्तुष्टि जनाउँदै एमाले दोलखाका जिल्ला अध्यक्ष पोखरेलले पदबाट राजीनामा दिनुभएको हो ।

पोखरेलले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गर्नुहुँदै उहाँले कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष नरबहादुर श्रेष्ठलाई दिएको बताउनुभएको छ । एमाले दोलखाका दुई नेता आनन्द पोखरेल, पार्वत गुरुङ र ईश्वरी रिजाल पोलिटव्युरो सदस्य बन्नुभएको छ भने सरस्वती बस्नेत र रचना खड्का केन्द्रीय सदस्य हुनुहुन्छ । बस्नेतलाई दोलखा जिल्ला इञ्चार्जको जिम्मा दिइएको छ ।

यस्तै, १० बुँदे सहमति गरेर एमालेमा नै फर्किनुभएका नेता भीम रावलले पनि बैठक निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । १०औँ महाधिवेशनमा अध्यक्षका लागि ओलीसँग लडेर पराजित हुनुभएका रावलले ‘विनामापदण्ड’ केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरेको भन्दै असन्तुष्टि जनाउनुभएको हो । केन्द्रीय कमिटीले गरेका निर्णयले पार्टीमा गुटबन्दी बढेको उहाँले बताउनुभयो ।

अछाममा भएको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै रावलले एमालेमा आइतबार भएको जिम्मेवारी, कार्यविभाजन हेर्दा अध्यक्ष ओलीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीलाई बढवा दिएको आरोप लगाउनुभयो। देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थप्रेरित काम भएको उल्लेख गर्दै रावालले पार्टी अध्यक्षबाट गुटबन्दी बढवा दिने निर्णय भएको र त्यसलाई तत्काल सच्याउन आग्रह पनि गर्नुभयो ।

नेता रावलले अध्यक्ष ओलीले विगतमा पार्टीमा असन्तुष्ट पक्षलाई १० बुँदे सहमतिमार्फत समेट्ने क्रममा कसैलाई पक्षपात गर्दिनँ भने पनि त्यस्तो हुन नसकेको बताउनुभयो । एमालेको भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी समिति गठन गरेको थियो । १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्दै ९९ सय सदस्यीय पोलिटव्युरो पनि गठन गरेको थियो । यस्तै, नेताहरूको वरीयताक्रम पनि तोकिएको थियो । प्रदेशहरूमा समेत इञ्चार्ज र कमिटीका पदाधिकारीहरू चयन गर्ने निर्णय बैठकले गरेको थियो ।

प्रचण्ड र माधव नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भए : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोप लगाउनुभएको छ । अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएर दक्षिणपन्थी अवसरवादको शिकार भएको बताउनुभएको हो ।

दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रूपमा रहेको उहाँले बताउनुभयो । ‘यो दक्षिणपन्थी अवसरवाद कस्तो रहेछ, कुरा क्रान्तिकारीका गर्ने तर आफ्नो स्वार्थमा धक्का लाग्नेबित्तिकै त्यो क्रान्तिको आदर्शबाट च्युत भएर दक्षिणपन्थीको सेवामा समर्पित गरिहाल्ने । यो इतिहासको शिक्षा हो’, उहाँले भन्नुभयो, ‘उग्रताको कुरा गर्नेहरू अन्तिममा दक्षिणपन्थी अवसरवादको शिकार हुन्छन् भनेर हाम्रा अग्रजहरूले भन्ने गरेका थिए त्यो चिज आज माओवादी आन्दोलनका सुप्रिमो ठानिने पुष्पकमल दाहाल प्रचण्डको जीवनमा पनि देखियो । हाम्रै आन्दोलनको लामो समयको नेताका रूपमा रहनुभएका माधव नेपाल जसलाई हामीले तीन कार्यकाल पार्टीको प्रमुखको रूपमा जिम्मेवारी सुम्पियौँ, उहाँलाई नेता मान्यौँ । उहाँले पनि आफ्नो जीवनमा त्यो चिजलाई प्रकट गर्नुभयो ।’

दाहाल र नेपालले पुँजीवादतर्फको यात्रा गरेको उल्लेख गर्दै पोखरेलले नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लागेको आरोप पनि लगाउनुभयो ।

‘प्रचण्ड र माधव नेपालहरू कांग्रेसलाई नेता बनाएर, कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिशनमा लाग्नुभा छ । भनेपछि दक्षिणपन्थी अवसरवाद भनेको यही हो । यसमाथि विजय हासिल गर्ने कुरा यतिबेलाको राजनीतिको एउटा मख्सद हो भन्ने कुरालाई बुझ्नु जरुरी छ ।’

एमालेलाई नेतृत्वबाहिर राख्ने प्रयास रोक्न, बहुमत ल्याउनुपर्छ

महासचिव पोखरेलले एमालेलाई तीनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रूपमा स्थापित गर्नु जरुरी रहेको बताउनुभएको छ । एमालेलाई भविष्यमा पनि गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको भन्दै उल्लेख गर्दै उहाँले जनताको बलियो समर्थनको आवश्यकता रहेको बताउनुभयो । पार्टीले अघि सारेको एजेण्डा र लक्ष्यका कारण बहुमत जनताको समर्थन प्राप्त गर्न सम्भव रहेको उहाँको भनाइ छ ।