एजेन्सी := बलिउड अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । बिहीवार सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडामा उनीहरुको विवाह भएको हो । सामाजिक संजालमा सार्वजनिक भएको बिहेको तस्विरमा कटरीना रातो रंगको लेहंगामा देखिएकी छन् भने विक्कीले सेतो रंगको शेरवानी लगाएका छन् । दुवैले बिहेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

विक्की र कटरीनाले बिहेको तस्विरसँगै क्याप्सनमा लेखेका छन्, ‘हाम्रो दिलमा प्रेम र कृतज्ञता छ, जसले हामीलाई यो पलसम्म ल्याएको हो । तपाईंहरु सबैको प्रेम र आशीर्वादको कामना गर्दै हामी एकसाथ यो नयाँ यात्राको सुरुवात गर्दैछौं ।’ उनीहरुको विवाहमा दुवै पक्षका परिवारका सदस्यसँगै अर्जुन कपूर, कनिका कपूर, करन जौहर, फराह खान लगायत उपस्थित भएका थिए । विवाह समारोहलाई ५/७ किसिमका फूलले सजाइएको थियो । केही दिनमै उनीहरुले रिसेप्सन पार्टीको आयोजना गर्दैछन् ।



















