बिबिएलको पहिलो खेलमै सन्दीपको विकेट।

काठमाडौं:= नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग (बिबिएल) को यस संस्करणको पहिलो खेलमै विकेट लिनुभएको छ । होबार्ट हरिकेन्सबाट पहिलो खेल खेल्दै सन्दीपले बुधबार सिड्नी सिक्सर्सविरुद्ध एक विकेट लिनुभएको हो ।

उत्कृष्ट बलिङ प्रदर्शन गरेसँगै सन्दीपले चार ओभर बलिङ गर्दै २४ रनमात्रै खर्चेर एक विकेट लिनुभएको थियो । होबार्टले सन्दीपलाई सातौँ ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले पहिलो ओभरमा मात्र तीन रन खर्चनुभयो ।

सन्दीपले अर्को ओभरमा तीन रन खर्चेर एक विकेट लिनुभयो । नवौँ ओभरको पहिलो बलमा ठूलो सट खेलेका क्रिष्टियनलाई सन्दीपले लङअनमा जोर्डन कक्सबाट क्याच आउट गराउनुभएको थियो ।

यस्तै सन्दीपले आफ्नो तेस्रो ओभरमा सात र चौथो ओभरमा दुई चौकासहित ११ रन खर्चिनुभएको थियो । सन् २०१८ मा बिगबास लिगमा डेब्यु गर्नुभएका सन्दीपले दुई सिजन मेलवर्न स्टार्सबाट खेल्नुभएको थियो । लामिछानेले गत सिजन होबार्टका लागि आठ खेल खेल्दै आठ विकेट लिनुभएको थियो।