राप्रपा पार्टीलाई भजनमण्डली बनाउन मलाई पार्टी चुनावमा हराइयो: थापा।

‘राजसंस्था पुनःस्थापना भए अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भन्ने नैतिक धरातल समाप्त’

काठमाडौं:= राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष तथा पूर्व-उपप्रधानमन्त्री कमल थापाले पार्टीलाई भजनमण्डली बनाउन आफूलाई हराइएको आरोप लगाउनुभएको छ । मंगलबार प्रेस वक्तव्य जारी गर्दै थापाले यस्तो आरोप लगाउनुभएको हो ।

थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबी पनि गर्नुभएको छ । उहाँले निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै राप्रपालाई राजाको भजनमण्डली हुन नदिने बताउनुभएको छ । थापाले राजसंस्था र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाबारे राप्रपाभित्र बहस सुरु गर्ने पनि बताउनुभएको छ ।

थापाले विज्ञप्तिमा भन्नुभएको छ, ‘राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीतिभन्दा माथि उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौँ’, उहाँले अगाडि भन्नुभएको छ, ‘अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहोरी हस्तक्षेप (यससम्बन्धी यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ । विगतमा झैँ राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने ? अत्यन्त प्रतिकूल अवस्थामा पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको म र राप्रपालाई अहिले परेको पीर यही हो । म नैतिक र धर्मसंकटमा परेको छु ।’

निवर्तमान अध्यक्ष थापाले राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित सबै पदाधिकारीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ । महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएका थापाले निर्वाचन परिणाम आएपछि आक्रोश व्यक्त गर्दै आउनुभएको छ । आफ्नो पराजय हुनुमा थापाले राजदरबारलाई दोष दिँदै आउनुभएको छ । मतदानमा लिङ्देनले १६७ मतान्तरले थापालाई हराउनुभएको थियो ।