महाधिवेशन सम्मुखमा कांग्रेस: आफ्नो पक्षमा माहोल बनाउन नेताहरू ‘लविङ’र दौडधूपमा व्यस्त।

[ डिबी शर्मा ] 

काठमाडौँ:= प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय महाधिवेशनको सन्निकट पुगेको छ । पटक-पटक मिति सार्दै आएको कांग्रेस महाधिवेशनको सम्मुखमै आइपुगेको हो । शुक्रबारदेखि काठमाडौँ स्थित भृकुटीमण्डपमा कांग्रेसको १४औँ महाधिवेशन हुँदैछ । महाधिवेशनको तयारीमा नेता-कार्यकर्ता जुटेका छन् । यसअघि २०७२ फागुनमा कांग्रेसले १३औंँ महाधिवेशन गरेको थियो ।

विवाद र असन्तुष्टिकैबीच कांग्रेसले १४औँ महाधिवेशन गर्दैछ । अहिलेसम्म महाधिवेशन अघि ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । ६ वटै प्रदेशमा संस्थापन र इतर समूहबीच प्रतिस्पर्धा हुँदा सुदूरपश्चिम, कर्णाली र बागमति प्रदेशमा सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार विजयी भएका छन्।

लुम्बिनी र गण्डकीमा नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् भने प्रदेश १ मा भने सिटौला पक्षका उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा सिटौला पक्षका उम्मेदवारलाई संस्थापन पक्षले साथ दिएको थियो । कांग्रेसले पहिलो पटक वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन गरेको हो ।

महाधिवेशन आउन तीन दिनमात्रै बाँकी रहेकाले नेताहरू आन्तरिक दौडधूपमै छन् । संस्थापन पक्षले तीव्र रूपमा आन्तरिक तयारी गरिरहेको भएपनि इतर समूह भने साझा उम्मेदवार छनोटमै अलमलिएको छ । सभापतिको उम्मेदवारमा सबैभन्दा तीव्र ढंगबाट लाग्नुभएको छ देउवा । देउवाले आफूनिकट नेताहरूसँग छलफल गरिरहनुभएको छ । उहाँले वडा अधिवेशनदेखिनै समूहगत रूपमा तयारी गर्नुभएको छ ।

देउवापछि एकल उम्मेदवारी घोषणा गर्नेमा उपसभापति विमलेन्द्र निधिपनि हुनुहुन्छ । देउवा र निधि बाहेक नेता रामचन्द्र पौडेल सभापतिका पुरानै आकांक्षी हुनुहुन्छ । पौडेल बाहेक इतर समूहमा नेता प्रकाशमान सिंह, डा. शेखर कोइराला, शशांक कोइराला पनि सभापतिकै आकांक्षी हुनुहुन्छ । त्यस्तै नेता कृष्णप्रसाद सिटौला पनि सभापतिकै रूपमा आफ्नो दाबी गरिरहनुभएको छ ।

माथि उल्लेख गरिएका बाहेक गोपालमान श्रेष्ठ, कल्याण गुरुङले पनि सभापतिमा उम्मेदवारी बन्ने बताउँदै आउनुभएको छ ।  हालसम्म सभापतिका आधादर्जन बढी आकांक्षी देखिएका छन् । महाममन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले पनि उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । यस्तै विभिन्न पदका आकांक्षीले उम्मेदवारी घोषणा गर्ने क्रमजारी छ ।

काठमाडौँ आउनथाले प्रतिनिधि

महाधिवेशन हुने दिन नजिकिए सँगै प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भएको छ । महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो । विभिन्न पदका आकांक्षीहरू आफू समर्थित शीर्ष नेताहरूसँग लविङगर्न र आफ्नो पक्षमा माहोल बनाउन आइतबारदेखि नै काठमाडौँ आउन थालेका हुन् ।

महाधिवेशन प्रतिनिधिका लागि आइतबारदेखि नै गौशाला, ठमेल, सुन्धारालगायतका स्थानमा होटलसमेत बुकिङ हुन थालेको होटेल व्यावसायीहरू बताउँछन् । कांग्रेस महाधिवेशनमा चार हजार सात सय हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन् ।

तयारी व्यवस्थित रूपमा अघि बढाउन देउवाको निर्देशन

निर्वाचनमा २९ वटा मतपत्र, २९३ वटा मतदान बुथ र १००० वटा मतपत्र खसाल्ने बक्स हुने

सभापति देउवाले महाधिवेशनलाई व्यवस्थित रूपमा अघि बढाउन नेताकार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरूसँग छलफल गर्दै देउवाले महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा गर्न सबै तयारी पूरा गर्न निर्देशन दिनुभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा प्रचार-प्रसार समिति, आवास समिति, स्वास्थ्यसमिति लगाएतले उद्घाटन समारोहका तयारीका बारेमा जानकारी गराएका थिए । महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानमा २९ वटा मतपत्रहुने जानकारी उहाँले दिनुभयो ।२९३ वटा मतदान बुथ र १००० वटा मत पत्रखसाल्ने बक्स हुने उहाँको भनाइ छ ।

प्रदेश २ समितिको अधिवेशन केन्द्रीय महाधिवेशनपछि 

नेपाली कांग्रेसको प्रदेश २ समितिको अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको छ । केही जिल्लाको क्षेत्रीयअधिवेशन हुन नसकेकाले प्रदेशको निर्वाचन महाधिवेशनपछि गर्ने निर्णय गरिएको  प्रदेश २ को महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्लाही, महोत्तरी, रौतहट र बारामा क्षेत्रीय अधिवेशन हुन सकेको छैन । विवाह पञ्चमी शुरु भैसकेकाले सबै जना उतैतिर लाग्ने र २४ गते महाधिवेशन भएकाले अब त्यसपछि नै निर्वाचन गरिने निर्वाचन समितिका सदस्य प्रह्लाद गौतमले बताउनुभयो ।

पौडेल निवासमा संस्थापन इतरका चार नेताको छलफल

महाधिवेशनको सम्मुखमा नेता रामचन्द्र पौडेल समूहका सभापतिका आकांक्षी नेताहरूले सोमबार छलफल गरेका छन् । सभापतिका आकांक्षी नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच सोमबार पौडेल निवास बोहराटारमा छलफल भएको हो । चार नेताबीच साझा उम्मेदवार उठाउने बारे छलफल भएको समूहका एक नेताले बताउनुभयो ।

बैठकमा साझा उम्मेदवार उठाउनेबारे सकारात्मक छलफल भएको उहाँको भनाइ छ । बैठकले यसकालागि मंगलबार आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएको छ । मंगलबार पूर्वमहामन्त्री सिंहको निवास चाक्सीबारीमा केन्द्रीय सदस्यहरूको बैठक बस्ने भएको छ । उक्त बैठकपछि साझा उम्मेदवार बारे निर्णय गरिने उहाँले बताउनुभयो ।