विश्व बैंकको सहयोगमा सातै प्रदेशमा अक्सिजन प्लान्ट।

काठमाडौं:= लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश २ को जनकपुर प्रादेशिक अस्पतालमा दुईवटा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा आएका छन् । विश्व बैंकको आर्थिक सहयोगमा उक्त प्लान्ट स्थापना गरिएको विश्व बैंकले जनाएको छ ।

प्लान्टले कोरोना महामारीमा नेपालको क्षमता अभिवृद्धि गर्न र चिकित्सकीय अक्सिजनको आवश्यकता पूरा गर्न प्रादेशिक अस्पताललाई अक्सिजनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताइएको छ । अक्सिजन उत्पादन प्लान्टको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डा. मदनकुमार उपाध्याय र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले गर्नुभएको थियो ।

बाँकी पाँच प्रदेशमा प्रदेश १ को दमक नगरपालिका अस्पताल, बागमती प्रदेशको हेटौंडा अस्पताल, गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, कर्णाली प्रदेशको कर्णाली प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको महाकाली प्रादेशिक अस्पतालमा सोमबारदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउने विश्व बैंकले जनाएको छ ।

सरकारले अस्पतालको क्षमता अभिवृद्धि गर्न र भविष्यमा कोरोनाविरुद्ध लड्न अस्पताललाई आत्मनिर्भर र पर्याप्तमात्रामा मेडिकल अक्सिजन उपलब्ध गराउन ठोस प्रयास गरिरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो । उहाँले विश्व बैंक र अन्य विकास साझेदारबाट महामारी नियन्त्रणका लागि प्राप्त सहयोगको सराहना गर्नुभयो

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक फारिस हदादले भन्नुभयो, ‘आवश्यक पूर्वाधार, उपकरण र आपूर्ति सही ठाउँमा हुनुपर्छ, जस्तै, अक्सिजन प्लान्ट, प्रत्येक प्रदेशमा फ्रन्टलाइन अस्पताल कोरोनाबाट उत्पन्न स्वास्थ्य संकटविरुद्ध सक्षम हुनुपर्छ । हामी सधैँ नेपाल र नेपालीको साथ छौँ ।’

विश्व बैंक, एसियाली विकास बैंक, युरोपियन युनियन, विकास तथा सहयोगका लागि स्विस एजेन्सी, अन्तर्राष्ट्रिय श्रम संगठन र खाद्य तथा कृषि संगठनका प्रमुख तथा वरिष्ठ प्रतिनिधिको संयुक्त भ्रमणका क्रममा अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो ।

प्रतिनिधिमण्डलले लुम्बिनी प्रदेश र प्रदेश २ मा क्रमशः कार्यान्वयनमा रहेको विश्व बैंकको सहयोगमा नेपाल पशुपालन क्षेत्र नवप्रवर्तन परियोजना र खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजनाअन्तर्गत क्षेत्रीय स्थलको भ्रमण गर्नुका साथै स्थानीय सरकार र स्थानीय समुदायसँग अन्तक्र्रिया पनि गरेको थियो ।