सेयर बजारमा उच्च गिरावट।

काठमाडौं:= साताको पहिलो दिन आइतबार सेयर बजार ७२.३० अंकले घटेको छ । कारोबारमा आएका अधिकांश कम्पनीको सेयरमूल्य घटेर सबै समूहगत सूचकमा उच्च गिरावट आएको छ ।

कारोबारमा आएकामध्ये १२ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने तीन कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबारमा आएका समूहगत सूचकमध्ये फाइनान्स, व्यापार र विकास बैंकको सूचक चार प्रतिशतभन्दा धेरै घटेको छ भने जलविद्युत्, अन्य र लगानी सूचक पनि ३ प्रतिशतभन्दा बढीले घटेका छन् ।

म्युचुअल फन्डको सूचक सबैभन्दा कम १.५४ प्रतिशतले घटेको छ । यस दिन दुई सय २६ कम्पनीका ८९ लाख २० हजार आठ सय ९४ कित्ता सेयर चार अर्ब नौ करोड सात लाख ६५ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

नेशनल हाइड्रोपावर छ लाख ९२ हजार चार सय ४० कित्ता सेयर २८ करोड ६२ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १७.२३ करोड, नेपाल टेलिकम १६.८९ करोड, नबिल बैंक १६.०५ करोड, महालक्ष्मी विकास बंैक १२.२५ करोड र अपि पावरको ११.०६ करोडको सेयर कारोबार भएको छ । न्यादी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नयाँ सारथी लघुवित्तको ४.०४ प्रतिशत, मैलुङखोला जलविद्युत् कम्पनीको ३.८१ प्रतिशत र युनिलिभर नेपालको ३.५६ प्रतिशतले मूल्य बढेको छ । आइसिएफसी फाइनान्सको सेयरमूल्य सर्वाधिक ८.३२ प्रतिशत र सबैको लघुवित्तको ८.१७ प्रतिशतले घटेको छ ।

कर्णाली डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, मुक्तिनाथ विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर र पोखरा फाइनान्सको सेयर छ प्रतिशतभन्दा बढीले घटेको छ ।