राप्रपाबाट नेतृत्व पुस्तान्तरणको सन्देश, अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी।

[ चिन्तन क्षेत्री ] 

काठमाडौं:= राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व राजेन्द्र लिङ्देनको काँधमा आएको छ । राप्रपाको एकता महाधिवेशनले लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेसँगै उहाँको काँधमा नेतृत्व आएको हो । राजनीतिक दलहरूमा पुस्तान्तरणको विषय उठिरहँदा त्यसको सुरुवात राप्रपाबाट भएको छ । पूर्व–पञ्चहरूको पार्टी राप्रपामा अध्यक्ष पदमा कमल थापा र लिङ्देनको उम्मेदवारी परेको थियो ।

विगत १९ वर्षदेखि थापाले राप्रपाको नेतृत्व गर्दै आउनुभएको थियो । सधँैभरि पार्टी ओगटेर बस्ने पाका नेताहरूलाई राप्रपाका नेता कार्यकर्ताले यसपटक नेतृत्व नसुम्पिएर पुस्तान्तरण गरेका छन् । नेतृत्व परिवर्तनको आकांक्षा राख्ने अरू पार्टीका युवानेता कार्यकर्तालाई पनि लिङ्देनको विजयले उत्साहित बनाएको छ । थापाले अध्यक्षमा उम्मेदवारी दिने क्रममा आफूलाई अझै चार वर्ष पार्टीमा काम गर्न दिन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । तर, राप्रपाका नेता कार्यकर्ताले थापालाई भन्दा लिङ्देनलाई विश्वास गरेका छन् र अबको राप्रपा हाँक्ने जिम्मेवारी लिङ्देनलाई सुम्पिदिएका छन् । लिङ्देनले अब आगामी दिनमा यो पार्टीका सबैलाई मिलाएर कसरी लैजानुहुन्छ र राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिकालाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने चुनौती रहेको छ ।

राप्रपाको एकता महाधिवेशनबाट लिङ्देन विजयी भएसँगै नेपाली राजनीतिक वृत्तमा पुस्तान्तरणको चर्चा पुनः सुरु भएको छ । तीन दशकपछि राप्रपाको नेतृत्व अर्को पुस्ताले पाएसँगै नेपाली राजनीतिमा पुस्तान्तरणको बहस सुरु भएको हो ।

कांग्रेस-एमालेले पुस्तान्तरणको कुरा राप्रपाबाट सिकून् – लिङ्देन 

‘नेताहरूको मानमर्दन र कार्यकर्ताको विश्वासघात गर्दिनँ’

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पुस्तान्तरणको कुरा राप्रपाबाट सिक्न अन्य दललाई आग्रह गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित शपथग्रहण समारोहमा उहाँले नेपाली कांग्रेस र एमालेलाई पुस्तान्तरणको कुरा राप्रपाबाट सिक्न आग्रह गर्नुभएको हो ।

‘किन राजनीतिक दलहरू बारम्बार फुटिराख्छन् ? त्यसको खोजी गर्दा राजनीतिक पार्टीको विधान र देशको संविधानमा समेत नेतृत्व हस्तान्तरणको व्यवस्था छैन । त्यसैले स्वाभाविकले पनि टिकिराख्न वा नेतृत्वमा बसिराख्न मन लाग्छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष लिङ्देनले अगाडि भन्नुभयो ‘हामीलाई श्रद्धेय कमल थापाको उत्तिकै खाँचो छ । विचारलाई जीवन्त राख्न उहाँको सक्रियतालाई कहिल्यै पनि बिर्सिन सकिँदैन । उहाँको योगदानको खाँचो अहिले पनि छ ।’

लिङ्देनले नेताहरूको मानमर्दन र कार्यकर्ताको विश्वासघात नगर्ने पनि बताउनुभएको छ । उहाँले पार्टीका निवर्तमान अध्यक्षहरूको जीवनकालमै आफ्नो पार्टीलाई मुलुकको बलियो शक्तिको रूपमा स्थापित गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

राप्रपाका पूर्व–अध्यक्ष पशुपति शमशेर जबराले मतदानका बखत ‘काँचो नेतृत्व’को पक्षमा नरहेको भन्दै दिएको अभिव्यक्तिले पनि राप्रपाको नेतृत्व चयन असम्भव जस्तै देखिएको थियो । उहाँले अगाडि भन्नुभयो, ‘२०४६ सालपछि नेपालको राजनीतिमा नेतृत्व गर्ने त्यो असफल पुस्ता जसलाई विस्थापित नगरीकन नेपालको राजनीतिमा सुधार हुँदैन भनेर भन्ने अन्य पार्टीका नेताहरूलाई पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले अब नेतृत्व गर्ने भयो ।’ तर, तीन दशकबढी समय पूर्व-पञ्चहरूको शासन भएको पार्टीमा नयाँ नेतृत्व आउनु सकारात्मक कुरा भएको अन्य दलका नेताहरूले पनि बताउन थालेका छन् ।

लिङ्देनले यो मोरो पनि बदमास रहेछ भन्ने नपार्ने दृढतासमेत व्यक्त गर्नुभयो । उहाँले अनुभवी नेताहरूको साथ लिएर काम गर्ने बताउनुभयो । अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘राजेन्द्र लिङ्देनले पार्टी चलाउन सक्छ ? भन्ने आशंका छ । पार्टीमा म मात्रै कहाँ छु ? श्रद्धेय तीन नेताहरू र हाम्रा पदाधिकारीहरू हुनुहुन्छ । मैले दाइ मानेका अनुभवी मानिसहरू हुनुहुन्छ । उहाँहरूको साथ लिएर अघि बढछौं ।’

‘सडकबाट भए पनि हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना हुन्छ’

राप्रपाका अध्यक्ष लिङ्देनले सडकबाट भए पनि हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डा स्थापित गराइछाड्ने बताउनुभएको छ । सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता जनाउँदै लिङ्देनले आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने बताउनुभयो ।

उहाँले युद्धकालमा माओवादीका कार्यकर्ताको कुटाइबाट र एकदिन मात्र ढिलो उपचार भएको भए ज्यान जाने गरी बिरामीबाट बाँचेर आफू आएको बताउनुभयो । नेतृत्व हस्तान्तरणको व्यवस्था नहुँदा अरू पार्टीसँग मिलेर आफ्नै पार्टीका नेताले र अरू पार्टी पनि सरकार बनाउने र ढाल्ने कार्यले निरन्तरता पाएको उहाँको भनाइ छ ।

नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया राप्रपाबाट सुरु भयो : निधि 

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राजनीतिक नेतृत्व पुस्ता हस्तान्तरणको प्रक्रिया सुरु भएको भन्दै लिङ्देनलाई बधाई तथा शुभकामना दिनुभएको छ । नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई दिँदै उहाँले भन्नुभयो, ‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको छ ।’

उहाँले विज्ञप्तिमार्फत भन्नुभयो, ‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पु¥याउनेछ भन्ने मैले विश्वासका साथ सफल कार्यकालको कामना गर्दछु ।’

उहाँको यो अभिव्यक्तिले अन्य पार्टीहरूमा पनि पुस्तान्तरणको आवश्यकता औँल्याउँछ । नेपाली राजनीतिमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चल्न थालेको धेरै भयो । ठूला र प्रजातान्त्रिक भनिएका राजनीतिक दलहरूमा लामो समयदेखि पुरानै अनुहारहरूले रजगज गरिरहेका छन् । तर, पूर्वपञ्चहरूको पार्टी राप्रपामा प्रजातान्त्रिक विधिबाट भएको नेतृत्व हस्तान्तरण÷पुस्तान्तरण ती दलहरूका लागि आफैंमा गतिलो सन्देश हो ।

अध्यक्षमा लिङ्देनले कमल थापालाई पराजित गरेको भए पनि अन्य पदाधिकारीहरूमा भने थापा प्यानलकै वर्चस्व देखिएको छ । उपाध्यक्ष खुल्लामा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान विजयी हुनुभएको छ । यस्तै, उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी हुनुभएको छ । खुला महामन्त्रीतर्फ डा. धवलशमशेर राणा, भुवन पाठक र महिला महामन्त्री कुन्ती शाही विजयी हुनुभएको हो ।

एकीकरणका बेला अध्यक्ष रहनुभएका डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले योपटक अध्यक्षमा दाबी नगरे पनि कमल थापाले पुनः एक कार्यकाल अध्यक्ष भएर पार्टी सञ्चालनको निर्णय गर्नुभएको थियो ।

हारपछि निर्मल निवासमाथि कमल थापाको गम्भीर आरोप

अध्यक्षमा पराजित भएपछि थापाले निर्मल निवासको प्रत्यक्ष हस्तक्षेपका कारण आफू पराजित हुन पुगेको भन्दै उत्तेजक र भावनात्मक अभिव्यक्ति सामाजिक सञ्जालमा दिनुभएको छ । पराजित हुनेबित्तिकै उहाँले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाउनु भएको थियो ।

उहाँले भन्नुभएको छ, ‘प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भत्र्सना गर्दछु ।’

निवर्तमान अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत हार भने स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना ।’

तर, थापाले आफूलाई राजनीतिक रूपमा समाप्त पार्ने चेष्टा गरिएको आरोप लगाउँदै राजसंस्थाप्रति भने निकै आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

यस्तै, हिमानी शाह नामको सञ्जालबाट आएको एक स्टाटसलाई मेन्सन गर्दै उहाँले ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हार्दिक बधाई तथा शुभकामना ।’ भन्नुभएको छ । हिमानी शाह नाम गरेको करिब नौ हजार फलोअर्स भएको आइडीबाट ‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनुभएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ ।’ स्टाटस आएपछि उहाँले यस्तो भन्नुभएको हो । तर, यो आइडी शाहको भए नभएको पुष्टि हुन सकेको छैन ।

धाराप्रवाह रूपमा आफ्नो अभिव्यक्ति राखिरहनु भएका थापाले भावुक हुँदै सामाजिक सञ्जालमार्फत आफ्नो अन्तरमनभित्रको मान्यतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताउनुभएको छ । ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ…’ गीतका पंक्ति लेख्दै उहाँले यस्तो बताउनुभएको हो ।

निर्वाचनको परिणाम सबैले स्वीकार गर्नुपर्छ : राणा

राप्रपाका निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले निर्वाचनको परिणाम सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । निर्वाचनबाट नेतृत्व चयन भएको विषयलाई नेता कार्यकर्ता सबैलाई स्वीकार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

निर्वाचनको परिणाम स्वीकार गरेर अघि बढ्न आफू तयार रहेको पनि बताउनुभयो । निवर्तमान अध्यक्ष राणाले राजसंस्था र हिन्दू राज्यको स्थापना गर्ने पार्टीको लक्ष्य प्राप्तिका लागि सशक्त ढंगले अघि बढन पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले चार दिनअघि भनेको थिएँ, सकभर सर्वसम्मति गरौँ । हुन सकेन भने परिणाम स्वीकार गरौँ भनेको थिएँ । म त्यो परिणाम स्वीकार गर्छु । सम्पूर्ण अरू साथीहरूलाई पनि स्वीकार गर्न अनुरोध गर्दछु । एउटै कुरा छ, साथीहरू–बाटो सजिलो छैन । बाटो अन्त्यन्त कठिन छ, तपार्इंहरूको सामुन्ने । त्यो बाटो बनाउँदा इमान्दारी र दक्षताको बाटो लिनुपर्छ । पार्टीले लिएको लक्ष्य राजसंस्था र हिन्दू राज्य स्थापनाका लागि नयाँ नेतृत्वले सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।’

नयाँ नेतृत्वले देश र जनताको हितमा काम गर्न सकोस् भन्दै उहाँले शुभकामना पनि दिनुभयो । निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेको महाधिवेशनले चयन गरेको पदाधिकारी र सदस्यले हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने काम गर्न सक्नुपर्ने जबराको भनाइ छ । यसका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो । राप्रपाको नयाँ नेतृत्व चयनसँगै अन्य पार्टीमा पनि नयाँ अनुहारको खोजी हुने उहाँको विश्वास छ ।

पार्टीले क्षमतावान् नेतृत्व पाएको छ : लोहनी

राप्रपा निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीले क्षमतावान् नेतृत्व पाएको बताउनुभएको छ । पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताउनुभएको हो ।

तीन दशकबाट लिङ्देन पार्टीमा निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘उहाँ लगातार ३० वर्ष पार्टीमा काम गर्नुभएको छ । पार्टीले पाको र क्षमताशील नेता पाएको छ ।’ वर्तमान नेतृत्वलाई आवश्यकताअनुसार आफूले सहयोग गर्ने उल्लेख गर्दै उहाँले अगाडि भन्नुभयो, ‘म नयाँ नेतृत्वको साथमा रहनेछु । पार्टी र जनताको हितमा काम गर्नेछु । यदी पार्टी र जनताविरुद्ध अहित भएमा त्यसको विरुद्धमा पनि उत्रिनेछु ।’

राप्रपाको नयाँ नेतृत्व चयनसँगै अन्य पार्टीमा पनि नयाँ अनुहारको खोजी हुने उहाँको विश्वास छ । लोहनीले ‘म ठूलो हुँ’ भन्ने भाव नराख्न पार्टीका नवनिर्वाचित नेतृत्वलाई आग्रह पनि गर्नुभएको छ । लोहनीले नेता हुनेबित्तिकै म ठूलो भए भन्ने भावना पाल्न नहुने उल्लेख गर्दै पार्टीको विधि, पद्धति, दृष्टिकोण र दर्शनमा बाँधिएर पार्टीलाई मुलुक हाँक्न सक्ने बनाउन पार्टी भित्र सबैले हातेमालो गएर अघि बढ्नुपर्ने आवश्यक्तासमेत औँल्याउनुभयो ।

निवर्तमान अध्यक्ष लोहनीले एक वर्षभित्र आवधिक निर्वाचन हुने र त्यसमा आफ्नो पार्टीले सकेसम्म सरकार बनाउने, नभए पनि सशक्त प्रतिपक्षको रूपमा उपस्थिति जनाउने गरी देशव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिनुभयो ।

को हुनुहुन्छ लिङ्देन ?

राप्रपाको अध्यक्षमा निर्वाचित लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुनुहुन्छ । उहाँ यसअघि कमल थापा अध्यक्ष रहँदा लगातार दुई कार्यकाल केन्द्रीय समितिका महामन्त्री हुनुहुन्थ्यो । वि.सं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मनुभएका उहाँले २०३६ सालदेखि राजनीति सुरु गर्नुभएको थियो ।

उहाँले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ विसं २०४८ मा राप्रपाको विद्यार्थी संगठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष बन्नुभएको थियो । उहाँ स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस-३ बाट दुईपटकसम्म वडाध्यक्ष पनि बन्नुभएको थियो । राजनीतिमा अनेकौँ दुःख र कष्ट भोग्नुभएका उहाँ विसं २०६०÷६१ मा तत्कालीन जिविस झापाको सभापतिसमेत बन्नुभएको थियो ।

उहाँ विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै झापा क्षेत्र नं ३ बाट सांसद निर्वाचित हुनुभएको थियो ।

पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उहाँले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताउनुभएको थियो । उहाँले पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, संगठन विभाग प्रमुखलगायत जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले कुनैबेला भद्रपुरबाट धनकुटा गाडी पनि चलाउनुहुन्थ्यो । कामलाई कहिले ठूलो सानो नभन्ने स्वभावका हुनुहुन्छ लिङ्देन । यही परिचयले उहाँलाई झापामा मात्र नभई पूर्वाञ्चलभर परिचित गराएको थियो । मीठो बोल्ने शालीन र शिष्ट स्वभावका लिङ्देनमा कहिल्यै अहंकार झल्किएन । उहाँ आफ्नो काम सुझबुझका साथ गर्नुहुन्छ । देशप्रेमी, विकास प्रेमी, भ्रष्टाचारविरोधी नेता अध्यक्ष लिङ्देन युवापुस्तामा प्रिय हुनुहुन्छ । उहाँको प्रभावकै कारण स्थानीय तहका निर्वाचनमा जिल्लाका तीन तह गौरीगञ्ज, हल्दिबारी र केचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष जितेको थियो ।

आइतबार बिहान सम्पन्न मतगणनामा लिङदेनसँग थापा १९९ मतान्तरले पराजित हुनुभएको हो । लिङ्देनले एक हजार ८१७ मत ल्याउँदा थापाले एक हजार ६१८ मत प्राप्त गर्नुभएको थियो । थापा २०६१ सालदेखि लगातार राप्रपाको अध्यक्ष हुनुहुन्थ्यो । लिङ्देनको जितमा निर्मल निवास अर्थात् निवर्तमान राजाको हात रहेको थापाको आरोप छ ।