काठमाडौं:= नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत ६ प्रदेशमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार मतदान भएका ६ मध्ये पाँच प्रदेशले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । आइतबार सम्पन्न मतगणको परिणामअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ ले पहिलोपटक प्रदेश कार्यसमिति निर्वाचित गरेको हो ।
बाँकी दुई प्रदेश मध्ये बागमतीमा सभापतिका लागि पुनः निर्वाचन भएको थियो भने प्रदेश २ मा निर्वाचन प्रक्रिया नै सुरु हुन सकेको छैन । प्रदेश कार्यसमितिमा एक सभापतिसहित दुई उपसभापति दुई महामन्त्री र एक महिलासहित तीन महामन्त्री रहने पार्टीको विधानमा व्यवस्था छ ।
सुदूरपश्चिममा बलायर विजयी
कांग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी हुनुभएको छ । प्रदेशमा कुल खसेको मत १००३ मध्ये बलायरले ६८८ मत प्राप्त गर्नुभएको हो । बलायरका निकटतम प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत मात्र ल्याउनुभयो । त्यस्तै उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी विजयी बन्नुभएको छ ।
महामन्त्रीमा नरनारायण शाह मनु र मेघराज खड्का विजयी हुनुभएको छ । सहमहामन्त्रीतर्फ गोपालदत्त भट्ट र चिन्तामणि भट्ट निर्वाचित हुनुभएको छ भने महिलातर्फको सहमहामन्त्रीमा अम्बिकाकुमारी चलाउने विजयी हुनुभएको छ । सुदूरपश्चिममा कार्यसमितिमा विजयी सबै पार्टी सभापति शेरबहादुर देउवा निकटका हुनुहुन्छ ।
कर्णालीमा शाही विजयी
कांग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न मतदानमा निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई १०५ मतअन्तरले हराउँदै ललितजंग प्रदेशको सभापति बन्नुभएको हो ।
प्रदेश निर्वाचन समितिकाअनुसार ललितजंगले ४२२ ल्याउँदा निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंगले ३१७ ल्याउनुभयो भने अर्का प्रतिद्वन्द्वी मोतीराज बमले सात मत प्राप्त गर्नुभयो । कूल ७५४ मत खसेकोमा आठ मत बदर भएको थियो ।
गण्डकीमा शर्मा विजयी
कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ । आइतबार सम्पन्न मतदानमा शर्माले ६१२ मत प्राप्त गर्नुभयो । कुल ११४६ मत खसेकोमा शर्माका प्रतिद्वन्द्वी अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याउनुभयो । विजयी शर्मा नेता पौडेलनिकट हुनुहुन्छ भने पराजित जोशी सभापति देउवानिकट हुनुहुन्छ ।
गण्डकीको उपसभापतिमा मेखलाल श्रेष्ठ र कल्पना तिवारी विजयी हुनुभयो भने महामन्त्रीमा किरण बाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने विजयी हुनुभएको छ । कार्यसमितिमा उपसभापति श्रेष्ठबाहेक सबै पदमा शर्मा पक्षकै उम्मेदवार निर्वाचित हुनुभएको छ ।
वाग्मतीमा इन्द्र बानियाँ विजयी
कांग्रेस वाग्मती सभापतिमा इन्द्र बानियाँ विजयी हुनुभएको छ । बानियाँ जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पछि पार्दै प्रदेश सभापतिमा विजयी हुनुभएको हो ।
निर्वाचित बानियाँले एक हजार ८५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी केसीले ९२७ मत ल्याउनुभयो । जम्मा २०२५ मत खसेकोमा १३ मत बदर भएको थियो । बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुनुहुन्छ भने केसी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुनुहुन्छ ।
शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधानमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार फेरि मतदान भएको थियो ।
प्रदेश १ सभापतिमा थापा विजयी
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को सभापतिसहित अधिकांश पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ । महामन्त्रीमा पौडेल–कोइराला समूहका एकजना मात्र विजयी भएका छन् । सोमबार बिहान सकिएको मत परिणामअनुसार सभापतिमा उद्धव थापा ८४४ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गर्नुभयो ।
उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी ८९१ र टंक प्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । संस्थापन इतरका गोबिन्दप्रसाद ढुंगाना (केदार)ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन) ले ६६९ मत प्राप्त गर्नुभयो ।
महामन्त्रीमा संस्थापनका भुपेन्द्र राईले ८२४ र संस्थापन इतरका उमेश थापाले ८२३ मत ल्याएर विजयी हुनुभएको छ। यसैगरी दीपनकुमार श्रेष्ठले ७६४ र पदम सुन्दर पालुङ्गवा ८०७ मत ल्याउनुभयो । सहमहामन्त्री महिलामा संस्थापनकै प्रमिला गछदार ८३७ मत ल्याएर विजयी हुनुभयो । निकटतम प्रतिद्वन्द्वी सीता कार्कीले ७३३ मत प्राप्त गर्नुभयो ।
सहमहामन्त्रीमा संस्थापनका खड्ग फागो १०२६ र बिनोदकुमार बस्नेत ७४७ मत ल्याएर विजयी हुनुभएको छ । संस्थापन इतरका रोहितकुमार शाह ६६५, विरकाजी राई ६४७ र शुभचन्द्र राई ८४ मत पाउनुभएको छ ।
प्रदेश २ को अन्योल कायमै
नेपाली कांग्रेसको प्रदेश नं २ अधिवेशनको अन्योल भने कायमै छ । केन्द्रीय निर्वाचन समितिले सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समितिलाई नपठाउँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हाद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन नसकेको हो ।
नामावली प्रकाशन हुन नसक्दा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको अधिकृत गौतमले बताउनुभयो । सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नं ४ र रौतहटको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् ।




















