सुरु भयो राष्ट्रिय बाघ सर्वेक्षण (गणना)

चितवन:= राष्ट्रिय बाघ सर्वेक्षण (गणना) आइतबारबाट सुरु भएको छ । वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यावदले चितवन राष्ट्रिय निकुञ्जबाट बाघ ट्र्यापिङ गरिने क्यामेराको स्विच थिचेर सर्वेक्षणको उद्घाटन गर्नुभएको हो । निकुञ्जको पूर्वी सेक्टर सौराहाको बुट्यानमा जडान गरिएको क्यामरा ‘अन’ गरेर सर्वेक्षणको सुरुवात भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले देशभर बाघ सर्वेक्षण गर्ने जनाएको छ ।

वनमन्त्री यादवले बुट्यानमा जडान गरिएको क्यामेरा अन गरेपछि क्यामेरामा बाघ कैद हुने विधिको डमी देखाएर सर्वेक्षण सुरु गरिएको हो । कार्यक्रममा मन्त्री यादवले सन् २०१० मा रसियामा आयोजित अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा बाघको दोब्बर संख्या पु¥याउने भनी गरिएको प्रतिबद्धता सन् २०२२ मा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । ‘त्यो लक्ष्य हामीले हासिल गर्दैछौँ’, उहाँले भन्नुभयो, ‘सन् २०२२ को पहिलो महिनामै सर्वेक्षणको नतिजा सार्वजनिक हुनेछ ।’ मन्त्री यादवले तीन महिनाको स्थलगत अध्ययन र थप एक महिनाको विश्लेणणपछि बाघको अद्यावधिक तथ्यांक प्राप्त हुने बताउनुभयो ।

विगत एक सय वर्षमा बाघको करिब ९० प्रतिशत बासस्थान मासिएको उल्लेख गर्दै उहाँले बाघ संरक्षणलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो । मन्त्री यादवले बाघ पाइने संरक्षित क्षेत्र तथा जैविक मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधिसमेत तयार भएर स्वीकृतिको क्रममा रहेको जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले ऐन कानुन कार्यान्वयन गर्न नसक्दा वन्यजन्तु संरक्षणमा चुनौती सृजना भएको बताउनुभयो । बाघ संरक्षण हुँदा सारा पारिस्थितिक प्रणालीसमेत संरक्षण हुने उहाँको भनाइ छ ।

सर्वेक्षणका लागि सर्वेक्षकहरू आ-आफ्नो क्याम्पमा गइसकेका छन् । केही सर्वेक्षक सोमबारसम्म आफ्नो क्याम्पमा पुग्ने बताइएको छ । नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा गरी पाँचवटा राष्ट्रिय निकुञ्ज र यस आसपासको वन क्षेत्रमा बाघको बसोबास छ । बाघ ओहोरदोहर गर्ने क्षेत्रमा दुईतर्फ क्यामेरा रखिन्छ । क्यामेरा नाघेर बाघ वा अन्य जीव जनावर गए क्यामेरामा स्वचालित रूपमा तस्बिर कैद हुन्छ ।

क्यामेराले खिचेका तस्बिरहरू विश्लेषण गरेर बाघको संख्या यकिन हुन्छ । बाघ गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र बाघ पाइने निकुञ्जबाहेकका क्षेत्रलाई समेत समेटेर तीनवटा कम्प्लेक्स बनाइएको छ । चितवन-पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा-लालाझाडी क्षेत्र गरी तीनवटा कम्प्लेक्स छन् । तीन कम्प्लेक्समा क्रमशः ८९५, ८१४ र २६० वटा ग्रिड छन् । चितवन–पर्सा कम्प्लेक्सको पहिलो, दोस्रो र तेस्रो ब्लकमा क्रमशः २८७, ३१०, २९८ वटा ग्रिड रहेका छन् । प्रत्येक ग्रिडभित्रमा बाघले प्रयोग गर्ने बाटो र क्षेत्रहरू हेरी एक जोडी स्वचालित क्यामराहरू जडान गरिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार नेपालमा सन् २००९ मा १२१, सन् १०१३ मा १९८ र सन् २०१८ मा २३५ वटा बाघ भेटिएका थिए । उहाँले गणनामा एक हजार क्यामेरा र २५० जना खटिने जानकारी दिनुभयो । गणनामा तीन करोड ७० लाख रुपैयाँ खर्च हुनेछ । आउँदो अन्तर्राष्ट्रिय बाघ दिवस सन् २०२२ को जुलाई २९ मा नतिजा घोषणा गर्ने तयारी छ । बाघ सर्वेक्षणमा नेपाल सरकार, डब्लु डब्लु एफ नेपाल, जेडएसएल नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।

बाघ सर्वेक्षणका लागि करिब एक हजारवटा स्वचालित मेसिन प्रयोग गरिनेछ । चितवन-पर्सा कम्प्लेक्समा मात्रै करिब आठ सयवटा क्यामेरा प्रयोग हुने निकुञ्जले जनाएको छ । बाघ सर्वेक्षणमा खटिने हरेक प्राविधिकको १० लाख बराबरको बिमा गरिएको छ । उनीहरूको सुरक्षाका लागि निकुञ्जको सेना सँगै रहनेछ । चितवनमा मात्रै १२० जना प्राविधिक र सहयोगीसहित हात्तीहरू परिचालन गरिनेछ । बाघ लोपोन्मुख जातिको जनावरमा सूचीकृत भएको जनावर हो । विश्वमा नेपाललगायत १३ वटा देशमा मात्रै पाटे बाघ पाइन्छ ।