काठमाडौ:= पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेकाे छ।
बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन गर्दै आर्सनललाई ३-२ अन्तरले पराजित गरेको हो। युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डोले २ गोल गर्दा ब्रुनो फर्नाण्डेजले १ गोल गरे। आर्सनलकोे लागि इमिली स्मिथ रोव र मार्टिन ओडेरार्डले १-१ गोल गरे।
योसँगै रोनाल्डोले आफ्नो करियरकै ८०० गोल पूरा गरेका छन्। ८०० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी हुन्। रोनाल्डोले १ हजार ९७ खेलमा याे कीर्तिमानी बनाएका हुन्। खेलको १३ मिनेटमा आर्सनलका स्मिथले गोल गर्दै सुरुआती अग्रता बनाए। ४४ मिनेटमा युनाईटेडका ब्रुनोले १-१ अन्तरमा खेल झारे ।
५२ मिनेटमा रोनाल्डोले कीतिमानी ८०० गोल तथा युनाईटेडलाई २–१ को अग्रता दिलाए । दुई मिनेट पछिनै ५४ मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई २–२ को अवस्थामा ल्याए । तर, स्टार खेलाडी रोनाल्डोले पुन: गोल गरेपछि युनाईटेड घरेलु मैदानमा छैटौं जित निकाल्न सफल भयो ।
यस पटक रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए। जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा छ । पराजित आर्सनलले २३ अंकसहित पाँचौ स्थानमा रहेको छ । आर्सनलले चौथो स्थानमा उक्लने अवसर समेत गुमाएको छ ।




















