चिलिमे-त्रिशुली विद्युत् प्रसारण लाइनको काम ६० प्रतिशत सम्पन्न।

काठमाडौं:= रसुवा तथा नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन र सबस्टेसन निर्माण ६० प्रतिशत सकिएको छ । प्रसारण लाइनको निर्माण आगामी साउनभित्र सक्ने गरी काम धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हव र त्रिशुली थ्री बी हब सबस्टेसन निर्माण भइरहेको छ । साथै चिलिमे-त्रिशुली थ्री बी हब २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छन् ।

दुवै सबस्टेसनको सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महŒवपूर्ण उपकरणको आपूर्ति ६५ प्रतिशत भइसकेको छ । प्रसारण लाइनमा पर्ने ७९  टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ । छवटा टावर खडा गरिएको छ । आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशुली थ्री बी हबसम्म आठ किलोमिटर चार सर्किट निर्माण गर्नेछ ।

भौगोलिकरूपमा अति जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुंगा, गिट्टी, बालुवा, टावरका सामान, मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध र कोरोनालगायतका कारण आयोजना निर्माण प्रभावित हुँदै आएको छ । आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनिज र परामर्शदाता पावर ग्रिड भारत हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले निर्माणाधीन सबस्टेसन र प्रसारण लाइनको स्थलगत अनुगमन गरी साउनभित्र काम सक्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी कुनै पनि वहानामा निर्माण कार्यमा ढिलाइ नगर्न र कामदार थपेर कामलाई तीव्रता दिन आग्रह गरेको छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन, १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् चिलिमे हबमा जोडिनेछ ।

प्रसारण लाइन अभावमा आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत अनुगमनमा गएको थियो । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङ्गाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो भने सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।