दुई समाजवादी र माओवादी केन्द्र मिलेर वैकल्पिक शक्ति बन्नुपर्छ:डा. भट्टराई।

बुटवल := जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध वैकल्पिक शक्तिको आवश्यकता रहेको औँल्याउनुभएको छ । उहाँले जसपा, एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर त्यस्तो शक्ति बन्न सक्ने बताउनुभयो ।

जसपा रुपन्देही क्षेत्र नम्बर २ ले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले कांग्रेस र एमालेबाट अब मुलुक परिवर्तन नहुने पनि दाबी गर्नुभयो । ‘उदार लोकतन्त्रवादीको एउटा धारको रूपमा कांग्रेस रहिरहन्छ । जतिपटक सरकारमा गए पनि त्यसबाट मुलुक रूपान्तरण हुन सक्दैन,’

उहाँले भन्नुभयो, ‘केपी ओलीको एमाले चरम यथास्थितिवादी र प्रतिगमनको नेतृत्व गर्ने शक्तिका रूपमा रूपान्तरण हुँदै गएको छ ।’ भटराईले राष्ट्रवाद र ‘कम्युनिजमको कक्टेल’बाट नवफाँसीवादीका रूपमा एमाले पतन हुँदै गइरहेको तर्क गर्नुभयो । अधुरो क्रान्ति भएका कारण मुलुकमा प्रतिगमन र प्रतिक्रान्तिकारी शक्ति मौलाएको डा. भट्टराईको भनाइ छ ।

उहाँले साशकीय स्वरूपको कमजोरीका कारण दुईतिहाइको सरकार ढलेको उल्लेख गर्नुहुँदै प्रत्यक्ष राष्ट्रपतिको व्यवस्था गरेर स्थायित्व र भ्रष्टाचारको नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले एमालेको चितवन महाधिवेशनलाई ४६ सालको पञ्च¥यालीको संज्ञा दिँदै विचारबाट स्खलित भएको एमालेले तामझाम र तडकभडक देखाएर जनतामा भ्रम सिर्जना गर्न खोजेको पनि टिप्पणी गर्नुभयो । एमाले महाधिवेशनमा देखिएको तडकभडक निभ्न लागेको बत्ती जस्तो भएको उहाँको भनाइ छ ।

पत्रकारहरूको एक प्रश्नको जवाफ दिँदै डा. भट्टराईले अहिलेको अवस्थामा प्रचण्डसँग अँगालो हाल्ने सम्भावना नरहेको उल्लेख गर्नुहुँदै अग्रमनको पक्षमा माओवादी केन्द्र आए माओवादी र प्रचण्डसँग माधव नेपाल नेतृत्वको पार्टीसँग एकताको पक्षमा एकता हुन सक्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशको चार दिने भ्रमणअन्तर्गत बुटवल आउनुभएका भट्टराईले पछिल्लो समय विभिन्न दलहरूमा नेतृत्व चयनमा देखिएको गतिविधि तथा सर्वोच्च अदालतमा देखिएको हर्कतले मुलुक प्रतिगमनतिर गएको बुझ्न सकिने उल्लेख गर्नुभयो ।