स्पेनिस ला लिगा फुटबल: बिल्बाओ र ग्रानाडाको बराबरी।

म्याड्रिड:= स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओ र ग्रानाडाले दुई÷दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा बिल्बाओले सुरुवाती अग्रता लिएको थियो । १०औँ मिनेटमा राउल गार्सियाले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो ।

राउलले इकर मुनियनको पासमा गोल गर्नुभएको थियो । बिल्बाओको अग्रतापछि जोसिएको ग्रानाडाले २५औँ मिनेटमा बराबरी गोल फर्कायो । डार्विन माचिसले जर्ज मोलिनाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । ३४औँ मिनेटमा जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई दुई÷एकको अग्रता दिलाउनुभएको थियो ।

त्यसपछि ७६औँ मिनेटमा बिल्बाओले ग्रानाडाको आत्मघाती गोल सहयोगमा खेल बराबरीमा सकेको थियो । बल रोक्नेक्रममा ग्रानाडाका गोलरक्षक लुइस म्याक्सिमियानोको प्रहार आफ्नै पोस्टमा छिरेको थियो ।

६३ प्रतिशत बल पोसेसनमा राखे पनि बिल्बाओले दोस्रो हाफमा थप गोल गर्न सकेन । दोस्रो हाफको इन्जुरी समयमा इनिगो मार्टिनेज रातो कार्ड पाउँदै बाहिरिएपछि बिल्बाओले १० खेलाडीमा खेल सकेको थियो । ग्रानाडाका जर्ज मोलिना ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

बराबरीसँगै १४ खेल सकेको बिल्बाओ २० अंकसहित आठौँ स्थानमा छ । समान खेलबाट १२ अंक बनाएको ग्रानाडा १६औँ स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको १३ खेलबाट ३० अंक छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको २९ र तेस्रो स्थानमा रहेको सेभियाको २८ अंक छ।